धेरै इङ्गेजमेन्ट कमाउनेमा नम्बर एक बार्सिलोना, सोसल मिडियामा रजगज
पौष २६ काठमाडौं । स्पेनिस फुटबल क्लब बार्सिलोनाका विश्वभर फ्यान छन् । क्लबका हरेक गतिविधि सामाजिक सञ्जालमा पछ्याउनेहरूको संख्या पनि दिनप्रतिदिन बढिरहेको छ ।
यसैबीच एक अध्ययनले सामाजिक सञ्जालमा सबैभन्दा बढी इङ्गेजमेन्ट बटुल्ने क्लबमा बार्सिलोना नम्बर एकमा रहेको निश्कर्ष निकालेको छ । ब्लिङ्कफायरले गरेको सो अध्ययनमा यो क्लब २०२० मा इन्स्टाग्राम, ट्वीटर, युट्युब र टिकटकमा सबैभन्दा धेरै इङ्गेजमेन्ट बटुल्न सफल भएको उल्लेख गरिएको छ ।
अध्ययन अनुसार क्लबले लगातार छैठौं वर्ष यो सफलता प्राप्त गरेको हो । सन् २०२० मा मात्रै क्लबले कुल १ अर्ब ६० करोड लाइक, कमेन्ट र शेयर प्राप्त गरेको छ । पछिल्लो ६ वर्षको अवधिमा बार्सिलोना मात्र एउटा यस्तो क्लब रह्यो, जसको सोसल नेटवर्कमा वर्षेनी एक अर्ब मानिसहरुको इङगेजमेन्ट रहेको छ ।
यस वर्ष इन्स्टाग्राम, ट्वीटर, युट्युब, टिकटक सबै प्लेटफर्ममा बार्सिलोना क्लबलाई कुनै पनि अन्य क्लबले पछाडि पार्न सकेन । तर फेसबुकमा भने बार्सा पहिलो क्लब बन्न सकेन । तर पहिलोपटक बार्सा डेढ अर्ब इङगेजमेन्ट कटाउने एक्लो क्लब बनेको छ । यो संख्या २०१९ मा १३।१३ प्रतिशतले बढेको थियो ।
यो सूचीमा दोस्रो स्थानमा इंग्लिस क्लब लिभरपुल रहेको छ भने तेस्रो स्थानमा म्यान्चेस्टर युनाइटेड छ । २०२० मा सार्वजनिक भएको नयाँ प्लेटफर्म रिल्सलाई पनि बार्साले प्रयोग गरेको थियो, जसमा उसको सर्ट भिडियोहरुले फ्यानहरुको मन जितेको थियो ।