खेल मैदान बनाउँदै कुकुर र बाख्रो मेयर
माघ १३, काठमाडौं । अमेरिकाको एक सहरमा अहिले एउटा कुकुर मेयरको रुपमा कार्यरत छ । मर्फी नामक क्याभेलिएर किंग चार्ल्स जातको उक्त कुकुर भन्दा अगाडि उक्त सहरमा एउटा बाख्रो मेयरको रुपमा थियो ।
सन् २०१८ मा लिंकन नामक बाख्रोलाई उक्त सहरले मेयरको रुपमा चयन गरेको थियो । यद्यपि ती जनावर मेयरहरु कार्यकारी भने होइनन्, सम्मानार्थ मेयर हुन् । यसरी बाख्रो र कुकुरलाई मेयरको रुपमा छनोट गर्नुमा उक्त सहरवासी तथा नगर प्रशासनको खास उद्देश्य रहँदै आएको छ ।
सन् २०१८ मा मेयर बनेको लिंकन बाख्रोले झण्डै १० हजार डलर आर्थिक संकलन गरिदिएको थियो । हालको मेयर लिंकनले अहिलेसम्म २० हजार डलर संकलन गरिसकेको नगर व्यवस्थापक जो गुन्टर बताउँछन् ।
जब नगर प्रशासनले मर्फीकी मालिक्नी लिन्डा बार्कर समक्ष लिंकनलाई राजनीतिमा सामेल गराएर मेयर बनाउने कुरा राख्यो तब लिन्डा आश्चर्यमा परिन् । आफ्नो कुकुरलाई मेयर बनाएपछि कुकुरका तस्वीर तथा सन्देश अंकित टिसर्टहरु बिक्री गरेर सहरका लागि अर्थ संकलन गर्न सकिने उनको अपेक्षा थियो । तर विडम्बना कोरोना भाइरस महामारी सुरु भयो ।
त्यसैले टिसर्टको साटो उनले मास्क बिक्री गर्ने योजना बनाइन् । उनले अहिलेसम्म मर्फीको नामबाट १ हजार मास्क बनाएर बेचिसकेकी छिन् । भ्यालेन्टाइन डेमा थप मास्क बनाएर बेच्ने उनको योजना छ । उनले अहिलेसम्म मास्क बेचेरै ५ हजार डलर र र्याफल बास्केट बिक्रीबाट थप उत्ति नै रकम उठाएकी छिन् ।
त्यस्तै उक्त नगरलाई हालै संघीय भूमि तथा जल संरक्षण कोषले ५० हजार डलर अनुदान प्रदान गरेको छ । आखिर कुकुर र बाख्रा मेयरले संकलन गरेको आर्थिक सहयोगको उपयोग केमा हुँदैछ त रु वास्तवमा सहरको सामुदायिक खेल मैदानको पुनर्निर्माणका लागि उक्त रकम संकलन गरिएको हो ।
सहरका बालबालिकाहरु मज्जाले खेल्न र मनोरञ्जन प्राप्त गर्न सकुन् भनेर उक्त सामुदायिक खेल मैदानलाई भव्य ढंगले पुनर्निर्माण गरिँदैछ । तर अचम्म त के भने आफ्नै सहयोगमा उठेको रकमबाट बन्ने खेल मैदानमा ती जनावर मेयरहरु भने छिर्न पाउने छैनन् । किनकी सामुदायिक खेल मैदानमा कुकुर तथा बाख्राहरुका लागि प्रवेश निषेध गरिनेछ ।