ट्राफिक कारबाहीको भुक्तानी अब अनलाइनबाटै गर्न मिल्ने

माघ २१, काठमाडौं । अब ट्राफिक नियम उल्लंघनको जरिवाना (कारवाही) को भुक्तानी अनलाइनबाटै गर्न मिल्ने भएको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखा, रामशाहपथले ट्राफिक नियम उल्लंघन गरेवापत तिर्ने जरिवानालाई अनलाइनबाट पनि भुक्तानी गर्न मिल्ने गरी टीभीआरएस (ट्राफिक भायोलेसन रेकर्ड सिस्टम) सफ्टवेयरको विकास गरेको हो । योसँगै अब घण्टौसम्म लाइनमा बसेर जरिवाना रकम बैंकमा क्यास भुक्तानी गर्नुपर्ने बाध्यताको अन्त्य भएको छ । सडक नियमको उल्लंघन गरि ट्राफिक कारबाहीमा परेका व्यक्तिले अब सजिलै घरमै बसेर डिजिटल भुक्तानी गर्न सक्नेछन् ।
ट्राफिक प्रहरी महासाखाले डिजिटल भुक्तानी ई–सेवासँग मिलेर यस्तो सफ्टवेयर ल्याएको हो । बुधबार एक समारोहकाबीच टीभीआरएसको औपचारिक उत्घाटन गर्दै महानगरीय ट्राफिक महाशाखाले प्रविधिको प्रयोग र अनलाइन भुक्तानीको सुविधाले सवारी व्यवस्थापनमा थप प्रभावकारी र सहज हुनुका साथै कम जनशक्तिबाट धेरै काम गर्न सकिने बताएको छ ।