निर्वाचन आयोगले नेकपा विवादमा कुनै निर्णय नगर्ने

फागुन १३, काठमाडौं । निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आधिकारिकता विवादमा तत्काल कुनै निर्णय नदिने भएको छ ।

नेकपा कानुनी रूपमा एउटै दल भएकाले आधिकारिकताबारे तत्काल कुनै निर्णय नगर्ने आयोगले जनाएको हो । प्रतिनिधिसभा विघटनको निर्णयसँगै राजनीतिक रूपमा विभाजित नेकपाबारे यसअघिकै निर्णयलाई निरन्तरता दिँदै आयोग आधिकारिकतासम्बन्धी विवादमा प्रवेश नगर्ने भएको हो ।

आधिकारिकताका लागि तोकिएको हदम्यादभित्र दुवै पक्षले दाबी नगरेको, राजनीतिक दलसम्बन्धी ऐन, नियमावली, पार्टी विधान एवं पार्टीको परिपत्रअनुसार कानुनी रूपमा नेकपा एउटै भएको र विधानअनुसार दुवै अध्यक्षको सहमतिमा महासचिवले डाकेको बैठक आधिकारिक हुने निर्णय आयोगले गत माघ ११ गते नै गरिसकेको छ ।

आयोगले संसद् पुनस्र्थापनापछि अब विवाद फरक ढंगले देखिन सक्ने अनुमानसमेत गरेको छ । चुनावका लागि पार्टीको नाम, चिन्ह र आधिकारिकताबारे विवाद थियो तर अब संसद् पुनस्र्थापनासँगै राजनीतिक विवाद संसदीय गणिततर्फ सोझिएको आयोगको अनुमान छ ।

आयोगले तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएपछि महाधिवेशन नभएको र महाधिवेशनसम्म नेकपाका दुवै अध्यक्षको सहमतिमा महासचिवले बैठक बोलाएर निर्णय लिने भन्ने विषय पार्टी विधानमै स्पष्ट रूपमा उल्लेख गरिएकाले दुई पक्षले एकअर्कालाई गरेको कारबाहीको कुनै औचित्य नहुने पनि बताएको छ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु