‘९९.९ प्रतिशत कोरोनाभाइरस मार्ने उपचार बनायौं’-अस्ट्रेलियाली र अमेरिकी वैज्ञानिक

जेठ ६, काठमाडौं। अस्ट्रेलियाली र अमेरिकी वैज्ञानिकको संयुक्त टिमले कोरोनाभाइरसको उपचार खोजी गरेका छन् । यो उपचारबाट मानवको फोक्सोमा ९९.९ प्रतिशत भाइरस नष्ट हुने उनीहरुले दावी गरेका छन् ।

वैज्ञानिकहरुले यो कोरोनाभाइरस उपचारमा प्रयोग गरिने औषधि नभइ थेरापी भएको बताएका छन् । उनीहरुका अनुसार यो थेरापी बिरामीलाई सुईमार्फत दिइन्छ । अस्ट्रेलियाको एबीसी न्यूजमा प्रकाशित रिपोर्टअनुसार अस्ट्रेलियाको क्विन्सल्याण्डका शोधकर्ता र अमेरिकी टिमले यो एन्टिभाइरल थेरापी विकास गरेको हो ।

यो थेरापीको मानवमा क्लिनिकल ट्रायल हुन बाँकी छ तर यसले मुसामा गरिएको परीक्षणमा ९९।९ प्रतिशत भाइरस मार्न सफल भएको छ । टिमका प्रमुख अनुसन्धानकर्ता ग्रिफिथ विश्वविद्यालयका प्रोफेसर निगिल म्याकमिलनले यो थेरापीलाई ‘खोज्ने र नष्ट गर्ने मिशन’ भनेका छन् । उनका अनुसार यो थेरापीले शरीरमा भाइरसलाई खोजीखोजी मार्नेछ ।

यो थेरापी जैविक रुपमा कोरोनाभाइरसलाई लक्ष्य बनाएर आक्रमण गर्ने गरी विकसित गरिएको छ । क्विन्सल्याण्ड युनिभर्सिटीको मेन्जिस हेल्थ इन्स्टिच्युट र अमेरिकी अनुसन्धान संस्थान सिटी अफ होपले अप्रिलमा यो उपचारको लागि शोध सुरु गरेका थिए । यो उपचार थेरापी ‘जीन साइलेन्सिङ’ भनिने एक मेडिकल विधिमा विकास गरिएको हो ।

अस्ट्रेलियामा यो विधिको आविष्कार १९९० को दशकमा भएको थियो । यो विधिमा भाइरसमाति आक्रमण गर्नको लागि आरएनएलाई परिष्कृत गरेर प्रयोग गरिन्छ । यसअघि फाइजर र मोडर्नाको कोरोनाभाइरस भ्याक्सिनमा पनि आरएनए परिष्कृत गरेर प्रयोग गरिएको थियो । यसरी विकास गरिएको यो खोपमा भाइरसलाई रोक्न सक्ने क्षमता ९५ प्रतिशत भएको पाइएको थियो । यो नयाँ थेरापी कोरोनाभाइरसका कारण गम्भीर बिरामी भएका र भ्याक्सिनले पनि असर नगरेकाहरुको लागि लक्ष्य गरेर विकास गरिएको हो ।

प्रोफेसर म्याकमिलनका अनुसार यो थेरापीले भाइरसलाई स्ट्रेन परिवर्तन गर्नबाट पनि रोक्छ अर्थात अहिले जसरी भाइरस रुप बदलेर नयाँ भेरिएन्टको रुपमा आइरहेको छ त्यो पनि रोकिनेछ । म्याकमिलनले यो थेरापीको सहाराले अहिले विश्वमा कोरोनाभाइरसका कारण भइरहेका मृत्युलाई ठूलो दरमा घटाउन सकिने अपेक्षा गरेका छन् । उनका अनुसार यो उपचार कुनै पनि कोभिड पोजेटिभ बिरामीको फोक्सोमा गएर भाइरस मार्न सक्ने क्षमता राख्छ ।

यद्यपि यसलाई मुसामा क्लिनिकल ट्रायल गरिएकोले यसको मानवमा प्रभावकारिता केही फरक हुन सक्छ र यो मानवमा कति सुरक्षित छ भन्ने प्रस्ट छैन । तर, शोधकर्ताहरु यो थेरापीबाट मानव कोषमा प्रभाव नपर्नेमा विश्वस्त छन् ।

 

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु