निषेधाज्ञा खुकुलो भए सँगै मानिसहरुको बढ्यो चहलपहल

१ असार, काठमाडौं । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि काठमाडौं उपत्यकामा आजबाट थप एक साता लम्बिएको निषेधाज्ञा अघिल्लो पटकको भन्दा खुकुलो बनाइएको छ । निषेधाज्ञा खुकुलो बनेसँगै उपत्यकामा मानिसहरुको चहलपहल बढेको छ ।

संक्रमण दर घट्दै गएकाले निषेधाज्ञा खुकुलो बनाउने निर्णय उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले गरेको थियो ।सो निर्णयअनुसार आजबाट होटल, रेष्टुराँहरुलाई टेकअवे सेवा सन्चालन गर्न अनुमति दिइएको छ । काठमाडौं उपत्यकाभित्र अनलाइन तथा टेकअवे होम डेलिभरी सेवा साँझ ७ बजेसम्म मात्र सन्चालनको अनुमति दिइएको छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार- आजबाट तरकारी तथा खाद्यान्न पसल बिहान ११ बजेसम्म खोल्न पाइने छ । औषधि, तरकारी, फलफूल, खाद्यान्न, दूध डेरी, मासु, खानेपानी, ग्यास पसल, किराना पसल, डिपार्टमेन्टल (ग्रोसरी) खोल्न पाइने छ । तरकारी र फलफूल थोक बजारमा फुटकर बेच्न भने रोक लगाइएको छ ।

नयाँ शैक्षिक सत्र सुरु भएकाले पुस्तक पसल र प्रिन्टिङ प्रेस पनि खोल्न दिने निर्णय गरिएको छ । यी सेवा बिहान ११ बजेसम्म खुल्नेछन् । अपरान्ह ४ बजेपछि निर्माण सामग्री (हार्डवेयर) पसल पनि खोल्न दिने निर्णय भएको छ । कृषि, मल, बीउ, कृषि औजारका पसल खोल्न पनि अनुमति दिइएको छ ।

कोरोना नियन्त्रणका लागि काठमाडौं उपत्यकामा वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गरिएको थियो । हाल ७५ जिल्लामा निषेधाज्ञा कायम छ । काठमाडौं उपत्यकाकासहित १७ वटा जिल्लामा जारी निषेधाज्ञा असार ७ गतेसम्म थप गरिएको छ । गृह मन्त्रालयका अनुसार काठमाडौं, ललितपुर र भक्तपुर, बागलुङ, डडेलधुरा, उदयपुर, कालीकोट, स्याङ्जा, कपिलवस्तु, ताप्लेजुङ, पूर्वी नवलपरासी, तनहुँ, बारा, इलाम, अछाम, पाँचथर र मुस्ताङमा असार ७ सम्मका लागि निषेधाज्ञा लम्ब्याइएको छ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु