अनलाइन ब्लुबुक नवीकरणको वेबसाइट निष्क्रिय भयो , यस्तो छ कारण

काठमाडौं । सवारी दर्ता, नवीकरण लगायतका काम अनलाइनमार्फत् नै गर्नका लागि बागमती प्रदेशले सञ्चालनमा ल्याएको यातायात व्यवस्थापन सूचना प्रणाली (टीएमआईएस) को वेबसाइटमा समस्या आएको छ ।
वेबसाइट एकाएक निष्क्रिय हुँदा धेरै सेवाग्राही मर्कामा परेका छन् । सेवाग्राहीले साइटमा गएर लगईन गरिसकेपछि देखाइने सवारीसाधनको विवरणहरू सबै ‘नट अभाइलेभल’ अर्थात उपलब्ध नभएको देखाइएको छ ।
योसँगै साइटमा गएर कुनै पनि दर्ता, नवीकरण, शुल्क भुक्तानी लगायतका कुनै पनि काम गर्न मिलिरहेको छैन ।
बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको सूचना प्रविधि विभागका अनुसार साइट अपग्रेडको काम चलिरहेको हुदाँ केही दिनलाई साइट ‘डिसेबल’ गरिएको छ ।
साइटमा नयाँ अपडेट आउन लागेको भएर हाललाई केही समय यो निष्क्रिय भएको सूचना प्रविधि अधिकृत सुदिप फूयाँलले बताए । आज बेलुकीसम्ममा समस्या समाधान गर्ने लक्ष्य भएको उनले बताए पनि निश्चित भने नभएको उनको भनाइ छ ।
गत साउन महिनादेखि बाग्मती प्रदेशबाट सवारी कर, जरिवाना लगायतका राजस्व भुक्तानीसँगै नवीकरण अनलाइनबाटै गर्न सकिने गरी यातायात व्यवस्थापन सूचना प्रणाली कार्यान्वयनमा ल्याइएको थियो ।