रिद्धिसिद्धि खानी बन्द गर्न वडाध्यक्ष कोइरालाको माग
राक्सिराङ । राक्सिराङ गाउँपालिका वडा नं ४ गिङ्गुस्थित रिद्धिसिद्धि सिमेन्टको खानी क्षेत्रमा भइरहेका गतिविधिहरुले मानवीय क्षति समेत हुनसक्ने भएकाले खानीसम्बन्धी कामकारबाही रोक्न राक्सिराङ गाउँपालिका ४ नं वडाध्यक्ष सन्जय कोइरालाले माग गर्नु भएको छ ।
वडाध्यक्ष कोइरालाले मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेसमक्ष पाँच बुँदे ध्यानाकर्षण पत्र पठाउँदै भन्नुभएको छ–‘निश्चित व्यक्तिहरुको शक्ति प्रदर्शन गराएर कानून बिपरित, सम्झौता बिपरित, निर्णयहरु बिपरित खानी सञ्चालन गर्ने मनशाय रिद्धिसिद्धि सिमेन्ट उद्योग र ठेकेदार कम्पनीहरुको देखिएकाले हाललाई मानवीय÷भौतिक र वातावरणी क्षति रोक्नुपर्ने आवश्यकता महसुस गरी समस्याको समाधानको पहल नभएसम्म शान्ति सुरक्षाको हिसाबले समेत खानी सञ्चालन गर्न उपयुक्त नदेखिएकाले तत्कालका लागि खानी सम्बन्धी कामकारबाही बन्द गराई सहज वातावरण निर्माणका लागि भूमिका खेलिदिनु हुन अनुरोध छ ।’
उहाँले बिहिबार लेख्नु भएको ध्यानाकर्षण पत्र जिल्ला प्रशासन कार्यालय मकवानपुरमा दर्ता गराउनु भएको छ भने उक्त ध्यानाकर्षण पत्र राक्सिराङ गाउँपालिका, जिल्ला प्रहरी कार्यालय, रिद्धिसिद्धि सिमेन्ट उद्योग, डिभिजन वन कार्यालय राप्ती र मिडियाहरुलाई बोधार्थ दिनु भएको छ ।
ध्यानाकर्षण पत्रको पहिलो बुँदामा प्रमुख जिल्ला अधिकारीसहित सरोकारवालाहरु बसेर मनहरी–चैनपुर–रतुवा–खैराङ हुँदै कैलाश गाउँपालिकासम्म अस्थायी बाटो निर्माणका लागि रिद्धिसिद्धि सिमेन्ट उद्योगलाई आग्रह गर्ने भनिए पनि बाटो निर्माण गरिँदा वातावरणीय प्रभाव मूल्यांकन नभएको स्थान अर्थात सिमेन्ट उद्योगको खानी क्षेत्रमा समेत अघि बढेकाले तत्काल उक्त कार्य बन्द गर्न आग्रह गर्नु भएको कुरा उल्लेख छ ।
ध्यानाकर्षण पत्रमार्फत सल्लाघारी सामुदायिक वन क्षेत्रमा पर्ने ४.५ किलोमिटर उक्त सडक निर्माण गर्दा यसअघि पनि सामुदायिक वनका पदाधिकारीहरु वन सम्बन्धी मुद्दा बोक्न बाध्य भएको घटना वडाध्यक्ष कोइरालाले स्मरण गराउनु भएको छ ।
वडाध्यक्ष कोइरालाले २०७८ साल कात्तिक २८ गतेका दिन रिद्धिसिद्धि सिमेन्ट उद्योगको खानी क्षेत्रमा रहेको मोतीदान कन्ट्रक्सन प्रा.लि.को प्र–०३–०१–००३ नंको एक्साभेटरमा आगजनी गरी ध्वस्त पारिएको र अन्य दुईवटामा क्षति पु¥याइएको घटनाले गाउँका बासिन्दा त्रसित रहेकाले उक्त घटनामा संलग्नहरुलाई तत्कालै पक्राउ गरी कारबाही गर्न माग गर्नु भएको छ ।
खानी सञ्चालन गर्नुअघि स्थानीयबासिन्दा, जनप्रतिनिधि, व्यवसायी, खानी सञ्चालक र सरोकारवालाहरुबीच पटक पटक भएका सहमति र सम्झौता कार्यान्वयन नहुँदा उत्खनन्कर्ता कम्पनीहरु बानियाँ निर्माण सेवा र मोतीदान कन्ट्रक्सन प्रा.लि. ले स्थानीय व्यवसायीहरुलाई पाखा लगाउने, समन्वय नगर्ने र बलजफ्ती प्रहरी र प्रशासन प्रयोग गरी काम लगाउने शैली अपनाएको वडाध्यक्ष कोइरालाले आरोप लगाउनु भएको छ ।
जसका कारण स्थानीय व्यवसायीहरुबीच झडप, कुटपिट, भागदौड र मुद्दामामिला बढी वातावरण असहज भइरहँदा मानवीय क्षति समेत हुन सक्ने अबस्था देखिएकाले तत्कालै स्थानीय बासिन्दाको मागको सम्बोधन र यसअघिको सहमति तथा सम्झौताको कार्यान्वयनका लागि पहल गरिदिन वडाध्यक्ष कोइरालाले माग गर्नु भएको छ ।
प्रमुख जिल्ला अधिकारीसहित सरोकारवालासहितको बैठकले मनहरीदेखि खैराङसम्म बाटो बनाउने निर्णय भए अनुसार बाटो बनाउँदा जैविक विविधतामा असर परेको, खोलाको बहावलाई परिवर्तन गरी कुलोजस्तो बनाइँदा जैविक विविधता र वातावरणमा असर परेकाले सोको सुधारका लागि पनि उहाँले माग गर्नु भएको छ ।मनहरीलाइभबाट