हैजाका कारण कपिलवस्तुमा थप एक बालिकाको मृत्यु
कपिलवस्तु । कपिलवस्तुको बुद्धभुमी नगरपालिकामा हैजाका कारण आइतबार थप एक बालिकाको मृत्यु भएको छ ।
बुद्धभुमी नगरपालिका– ६ महुवाकी १३ वर्षिया श्रृजना यादवको मृत्यु भएको हो ।
कपिलवस्तुमा असोज १८ गतेदेखि फैलिएको हैजाका कारण मृत्यु हुनेको संख्या ७ पुगेको छ । बुद्धभूमी– ७ मानपुरमा असोजको पहिलो साता साढे २ वर्षकी बालिकाको समेत झाडा पखालाका कारण मृत्यु भएको थियो ।
बुद्धभूमि नगरपालिका, कपिलवस्तु नगरपालिका र मायादेवी गाउँपालिकामा हैजाका बिरामी फेला परेका छन् । बुद्धभूमीको वडा नं. ५ र मायादेवीको वडा नं। ७ मा १४ जनामा हैजाको जीवाणु भेटिएको छ । बुद्धभूमीका ५, ६, ७, ८ र १० वडामा हैजाका बिरामी देखिएको बुद्धभूमी नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ ।