आज सहिद दिवस , प्रधानमन्त्रीले गरे शहीद स्तम्भमा माल्यार्पण

काठमाडौँ । प्रत्येक वर्ष माघ १६ गते मनाइने सहिद दिवस प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहूति दिने सहिदको सम्झनामा विविध कार्यक्रम गरी आज देशभर मनाइँदै छ ।

सहिदलाई प्रत्येक वर्ष माघ १६ गते सम्झने गरे पनि सपना पूरा गर्न हुनुपर्ने जति काम नभएको गुनासो यस अवसरमा हुने गरेको छ । यस दिन हुने औपचारिक कार्यक्रममा जिम्मेवार अधिकारीहरूबाट सहिदको सपना पूरा गर्ने प्रतिबद्धता व्यक्त गरिँदै आएको छ ।

माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ सहिद सप्ताह मनाउने घोषणा गरी विविध कार्यक्रम हुँदै आएको छ । विसं २०१२ देखि नै तत्कालीन काठमाडौँ नगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष माघ १६ गते सहिदको सम्झनामा दिवस मनाउन थालिएको हो ।

स्वतन्त्रताको माग गर्दा विसं १९९७ मा सहिद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौँको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा  र गंगालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा राणा शासकले मृत्युदण्ड दिएका थिए ।

यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौंको लैनचौरस्थित शहीद स्तम्भमा माल्यार्पण गरेका छन् ।

शहीद दिवसको अवसरमा काठमाडौं महानगरपालिकाले आयोजना गरेको कार्यक्रममा सहभागी भएर प्रधानमन्त्री देउवाले शहीद स्तम्भमा माल्यार्पण गरेका हुन् ।

कार्यक्रममा राजनीतिक दलका नेता, सरकारी कर्मचारी, सुरक्षाकर्मी लगायत सहभागी थिए ।

कोरोना संक्रमणको अवस्थाका कारण शहीद दिवसको कार्यक्रम औपचारिकतामा सीमित गरिएको काठमाडौं महानगरपालिकाले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*