मकवानपुरको जेष्ठ पत्रकार पेन्सन कोषमा उपमहानगरपालिकाद्वारा पाँच लाख सहयोग

हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुर साखाले सञ्चालनमा ल्याएको जेष्ठ पत्रकार पेन्सन कोषमा हेटौंडा उपमहानगरपालिकाले पाँच लाख सहयोग गरेको छ । महासंघ मकवानपुर साखाले बिगतको वर्षबाट सञ्चालनमा ल्याएको पेन्सन कोषमा पाँच लाख रुपैयाँ सहयोग गरिएको उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले बताउनुभयो ।

बितेको आर्थिक वर्ष देखि पत्रकार महासंघले २० वर्ष काम गरेका र ६० वर्ष उमेर पुगेका जेष्ठ पत्रकारका लागि मासिक पेन्सन दिनका लागि सञ्चालनमा ल्याएको कोषमा थोरै भएपनि सहयोग पुगोस भनेर सहयोग हस्तान्तरण गरिएको मेयर महतले बताउनुभयो ।

नेपाल भरीमै पहिलो पटक पत्रकार महासंघ मकवानपुर साखाले एक वर्ष अगाडी पेन्सन कोषको स्थापना गरेर मासिक ४ हजार रुपैयाँ जेष्ठ पत्रकार नबराज शर्मालाई पेन्सन दिदै आएको छ । चालु आर्थिक वर्षमा पनि उपमहानगरपालिकाले कोषका लागि पाँच लाख रुपैयाँ सहयोग गरेको पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतमले बताउनुभयो ।

हाल एक जना जेष्ठ पत्रकारलाई पेन्सन दिने गरेकोमा थप पाँच लाख रुपैयाँ रकमले थप जेष्ठ पत्रकारलाई पनि पेन्सन दिन सहयोग पुगेको पत्रकार महासंघ मकवानपुर साखाका निवर्तमान अध्यक्ष तथा पेन्सन कोषका संयोजक हरि हुमागाईले बताउनुभयो ।

आफ्नो नेतृत्वमा महासंघमा पेन्सन कोषको स्थापना गरिएको र यसलाई बृद्धी गर्दै लैजाने अभियानमा लागिएको संयोजक हुमागाईले बताउनुभयो । महासंघ मकवानपुर साखाले पेन्सन कोष सम्वन्धी कार्यबिधी बनाएर साधारणसभाले पास गरेर पेन्सन कोष सञ्चालनमा ल्याएको हो । पेन्सन कोषका लागि उपमहानगरपालिकाले यस अघिको वर्षमा दश लाख रुपैयाँ सहयोग गरेको छ । यही रकमको व्याजबाट पेन्सन रकम हस्तान्तरण गरिदै आएको छ ।

यसैगरी हेटौंडा उपमहानगरपालिकाले मकवानपुर जिल्लाका एक सय ६४ जना पत्रकारको पाँच लाख रुपैयाँका दरले दुर्घटना बिमा गरिदिएको छ । बिमा वापत तिर्नुपर्ने प्रिमियम रकम एक लाख २२ हजार २ सय ७० रुपैयाँ महासंघ मकवानपुरलाई चेक हस्तान्तरण गरिएको मेयर हरि बहादुर महतले बताउनुभयो । बितेको वर्ष देखि उपमहानगरपालिकाले महासंघ मकवानपुरका सदस्यहरुका लागि दुर्घटना बिमा गरिदै आएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*