देशभर सामान्यदेखि पूर्ण बदली, केही स्थानमा चट्याङसहित वर्षाको सम्भावना

काठमाडौँ – देशभरको मौसम बिहीबार सामान्यदेखि पूर्ण बदली भई धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

पश्चिमी वायुको प्रभावले अहिले सुदूरपश्चिम र कर्णाली प्रदेश अधिकांश क्षेत्र तथा अन्य प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली भएको छ।

दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली हुनेछ। बागमती प्रदेशमा सामान्य बदली रही अन्य प्रदेशहरुमा आंशिकदेखि सामान्य बदली हुने मौसमविद्ले बताएका छन्। सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका धेरै स्थान तथा गण्डकी र बागमती प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ। अरु प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थान तथा बागमती प्रदेश र प्रदेश १ को उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ।

राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। देशका धेरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ।

यसैबीच तराई तथा पहाडी क्षेत्रका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा र उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेकाले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*