अन्तर्राष्ट्रियस्तरको मन्टेश्वरी सञ्चालन गर्दै तुलसीमेहर

हेटौंडा– बालबालिकाको मानसिक र शारीरिक विकासलाई मध्यनजर गर्दै हेटौंडा–१० भुटनदेवी मन्दिर रोडमा रहेको तुलसी मेहर मेमोरियल विद्यालयले आफ्नै पाठ्यक्रम बनाएर अन्तर्राष्ट्रियस्तरको मन्टेश्वरी सञ्चालन गर्ने भएको छ ।

हाल सार्क एजुकेशन फाउन्डेशनद्वारा सञ्चालनमा रहेको यस विद्यालयले आउँदो शैक्षिक सत्रबाट मन्टेश्वरी कक्षा सञ्चालन गर्न लागेको जनाएको छ । आगामी माघ २३ गते श्रीपञ्चमी (सरस्वती पूजा) को दिनदेखि मन्टेश्वरीमा भर्ना सुरु गर्दै अक्षराम्भ गराउने तयारी गरिएको छ । विद्यालयले सरस्वती पूजाको दिन भर्ना हुने विद्यार्थीलाई निःशुल्क भर्ना गर्ने समेत जनाएको छ ।
शुक्रबार विद्यालयमा पत्रकार सम्मेलन गर्दै प्रिन्सिपल रघुनाथ खरालले किताबमा लेखिएको कुरालाई क्रियाकलापमै ढालेर पूर्ण सिकाई गराउने उद्देश्यले पाठ्यक्रम तयारी गरी प्रिस्कुल सञ्चालन गर्न लागेको जानकारी दिए ।

फाउन्डेशनका सिइओ लक्ष्मण बस्नेतले विद्यार्थीलाई आधुनिक शैलीबाट पढाइने दावी गरे । बालबालिकाको रूचिअनुसारको व्यवहारिक सिकाई दिइने बताउँदै उनले ब्याचलर लेभलका विद्यार्थीलाई ‘पढ्दै कमाउँदै’ कार्यक्रमसमेत सञ्चालन गर्ने बताए ।

विद्यालयका प्रोगाम डाइरेक्टर किशन बास्तोलाले बालबालिकालाई उनीहरुको शारीरिक र मानसिक क्षमताअनुरुप व्यवहारिक शिक्षा दिन सबै खालको तयारी पूरा भएको बताए । विद्यालयमा हाल एक हजार एक सय जना र दस जोड दुईमा करिब ३ सय ५० भन्दा बढी विद्यार्थी अध्ययनरत रहेको उनले सुनाए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*