तु खबरको वार्षिक उत्सवको अवसरमा ६ जना पुरस्कृत

मकवानपुर । हेटौंडाबाट सञ्चालित तु खबर डटकमको ५ औँ वार्षिक उत्सवको अवसरमा ५ जना पत्रकार र एक जना छापाखानामा कार्यरत कर्मचारी पुरस्कृत भएका छन् । स्टेट भिजन प्रा.लिको आयोजनामा शनिवार हेटौंडामा आयोजित वार्षिक उत्सव एवम् पत्रकारिता पुरस्कार वितरण समारोहमा बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले नगद र प्रमाणपत्रसहित पत्रकारहरुलाई पुरस्कृत गरेका हुन् ।

कार्यक्रममा अन्नपूर्ण पोष्ट राष्ट्रिय दैनिकका सम्पादक अखण्ड भण्डारी, राजधानीडेल्ली डटकमका सम्पादक ध्रुव लम्साल, नेपाल समाचारपत्रका मकवानपुर संवाददाता रोशन पराजुली, रेडियो मकवानपुरका समाचार प्रमुख राजन दाहाल (खुसराज), धादिङ्पोष्ट डटकमका सम्पादक नारायण शिलवाल र विभिन्न छापाखानामा पत्रपत्रिका छपाईको काम गर्दै आएका सोमबहादुर विष्टलाई नगदसहित पुरस्कृत गरिएको हो ।

सम्पादक भण्डारीलाई नगद १५ हजार १ रुपैयाँ राशीको ‘जागरण तु खबर अग्रज पत्रकार पुरस्कार –२०७८’, सम्पादक लम्साललाई नगद १२ हजार १ राशीको ‘रुपचन्द्र विष्ट स्मृति पत्रकारिता पुरस्कार–२०७८’, संवाददाता पराजुलीलाई नगद १० हजार १ रुपैयाँ राशीको ‘जागरण तु खबर समकालीन पत्रकार पुरस्कार–२०७८’, समाचार प्रमुख दाहाल र सम्पादक शिलवाललाई क्रमश नगद १० हजार १ राशीको ‘तु खबर रेडियो पत्रकारिता पुरस्कार–२०७८’ र तु खबर अनलाइन पत्रकारिता पुरस्कार–२०७८ बाट पुरस्कृत गरिएको हो । त्यस्तै विष्टलाई नगद ५ हजार रुपैयाँ राशीसहित सम्मान गरिएको हो ।

२०५१ सालदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील रहेर आम नागरिकको सूचित हुने अधिकारको निम्ति पुर्याएको योगदानको कदर गर्दै सम्पादक भण्डारीलाई मकवानपुर जागरण अभियानसँगको सहकार्यमा तु खबरले स्थापना गरेको ‘जागरण तु खबर अग्रज पत्रकार पुरस्कार २०७८’ प्रदान गरिएको हो । त्यस्तै २०५७ सालदेखि निरन्तर पत्रकारिता क्षेत्रमा क्रियाशील सम्पादक लम्साललाई ‘रुपचन्द्र विष्ट स्मृति पत्रकारिता पुरस्कार २०७८’, २०६२ सालदेखि पत्रकारितामा क्रियाशील भई हाल अनलाइन पत्रकारको रुपमा स्थापित सम्पादक शिलवाललाई ‘तु खबर अनलाइन पत्रकारिता पुरस्कार २०७८’, २०४८ सालदेखि पत्रकारितामा निरन्तर रुपमा काम गर्दै आएका र हाल रेडियोकर्मीको रुपमा स्थापित दाहाललाई ‘तु खबर रेडियो पत्रकारिता पुरस्कार–२०७८’ र २०५२ सालदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील पराजुलीलाई ‘जागरण तु खबर समकालीन पत्रकार पुरस्कार–२०७८’ प्रदान गरिएको हो । त्यस्तै हेटौंडाका विभिन्न छापाखानामा २०४० सालदेखि कार्यरत रहेका विष्टलाई नगदसहित सम्मान गरिएको हो ।

कार्यक्रममा तु खबरले वार्षिक उत्सवको अवसरमा प्रकाशन गरेको तु खबर स्मारिकाको पाँचौँ संस्करण विमोचन गरिएको थियो । प्रदेश प्रमुख शर्मा, बागमती प्रदेश भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्त प्रजा, नेकपा एकीकृत समाजवादी बागमती प्रदेश संसदीय दलकी मुख्य सचेतक मुनु सिग्देललगायतले उक्त पुस्तक विमोचन गरेका थिए ।

सशक्त पत्रकारिता नै समाज परिवर्तनको सम्वाहकः प्रदेश प्रमुख शर्मा

बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले सञ्चार माध्ययमहरुले नागरिकहरुको सुसूचित हुने अधिकारको प्रर्वद्धन गरिरहेको बताउँदै आगामी दिनमा थप सशक्त र जनताप्रति जवाफदेहीपूर्ण ढंगबाट सञ्चार क्षेत्र अघि बढ्नुपर्ने सुझाव दिएका छन् । स्टेट भिजन प्रा.लि.द्वारा सञ्चालित तु खबर डटकमको पाँचौँ वार्षिक उत्सव तथा पत्रकारिता पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै प्रदेश प्रमुख शर्माले जिम्मेवार तथा सशक्त पत्रकारिता नै समाज परिवर्तनको सम्वाहक भएको उल्लेख गरे ।
उनले सत्यको सम्प्रेषण गर्न सकेको अवस्थामामात्रै पत्रकारिता क्षेत्रले सफलता प्राप्त गरेको मानिने बताए । कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाको अतिरिक्त देश र जनतालाई अदम्य शाहस भएको स्वाभिमानयुक्त पत्रकारिता आवश्यक भएको बताए । विभिन्न कालखण्डमा शासकहरुबाट पत्रकारिता क्षेत्रलाई दबाउन भएका प्रयासहरु बिफल पार्दै निडरतापूर्वक अघि बढेको पत्रकारिता क्षेत्रकै बलमा मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापित भएको बताउँदै यसको रक्षाका निम्ति पनि पत्रकारहरु उत्तीकै जिम्मेवार हुनुपर्नेमा उनले जोड दिए ।

पत्रकारिता क्षेत्रले समाजमा विद्यमान, कुरीति, कुसंस्कृति, अन्धविश्वास र राजनीतिक क्षेत्रमा रहेका ययास्थितिवादीहरुको विपक्षमा उभिएर जनताको हक र हितको पक्षमा इमान्दार भएर काम गर्नुपर्ने बताए । उनले मिडिया क्षेत्रको उत्तरोत्तर प्रगतिको शुभकामना दिँदै तु खबरको वार्षिक उत्सवका अवसरमा विभिन्न बिधामा पुरस्कृत हुने पत्रकारहरुलाई बधाई ज्ञापन गरे । उनले मोफसलबाट सञ्चालित सञ्चार माध्ययमले यो स्तरको अनुकरणीय कार्य गरेको भन्दै प्रशंसा गरे । उनले तु खबर स्मारिकामा दृष्टिकोण, सूचना, विचार, मनोरञ्जन तथा अभिप्रेरणा प्रवाहित गर्ने सामग्री समावेश भएको बताउँदै आगामी दिनमा निरन्तर सफलताको कामना गरे ।
तु खबरका सम्पादक गिरिजा अधिकारीको सभाध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेश भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्त प्रजा, बागमती प्रदेशसभा सदस्य मुनु सिग्देल, मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, मकवानपुर जागरण अभियानका अध्यक्ष कृष्णराज कोइराला, नेपाल पत्रकार महासंघ बागमती प्रदेश उपाध्यक्ष रुपेश दुलाल, नेपाल पत्रकार मञ्चका महासचिव विमल थापा, नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामा, नेकपा एमालेका अध्यक्ष एकलाल श्रेष्ठ, नेकपा माओवादी केन्द्र मकवानपुरका सचिव भीम पाख्रिन, पत्रकार महासंघ बागमती प्रदेश समितिका उपाध्यक्ष रुपेश दुलाल, मकवानपुर अध्यक्ष मणिराज गौतम, पूर्व अध्यक्षहरु, मकवानपुर जागरण अभियानका अध्यक्ष कृष्णराज कोइरालालगायत सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*