समय अगावै मनसुन भित्रिएपनि आत्तिनु पर्दैन – मौसम विज्ञान विभाग

काठमाडौं । नेपालमा समय अगावै मनसुन भित्रिएपनि आत्तिनु पर्ने अवस्था नरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

यस वर्ष समयभन्दा लगभग हप्ता दिनअगाडि नै नेपालमा मनसुन प्रवेश गरेको हो । विभागका अनुसार यस वर्ष जुन ५ मा मनसुन पूर्वी क्षेत्रबाट नेपाल भित्रिएको छ । नेपालका सबै क्षेत्रमा मनसुन सक्रिय हुन हप्ता दिन लाग्ने विभागले जनाएको छ। पत्रकारसँग कुराकानी गर्दै विभागकी प्रवक्ता विभूति पोखरेलले सधैँ एकै समय र मितिमा मौसम भित्रिने भन्ने नभएको भन्दै यसलाई नकारात्मक रुपले लिन नमिल्ने बताउनुभयो ।

उहाँले प्रत्येक वर्ष सामान्यतया नेपालमा १३ जुनपछि मात्रै मनसुन भित्रिने गरेको तर यस वर्ष भने ५ जुनमा नै मौसम भित्रिसकेको बताउनुभयो । उहाँले बंगालको खाडी आसपास विकसित न्यून चापीय क्षेत्रका कारण आइतवारदेखि नेपालको पूर्वी भेगबाट मनसुन प्रवेश गरेको बताउनुभयो । गत वर्ष नेपालमा १० जुनमा मनसुन भित्रिएको थियो ।

उहाँले भन्नुभयो, ‘यो वर्षको मौसम छिटो आएको छ । सामान्यतया हाम्रो मौसम जुन १३ पछि आउने गर्दथ्यो । यो वर्ष जुन ५ मा नै मौसम नेपाल प्रवेश गरेको छ । सबै वर्ष त्यस्तै हुनुपर्छ भन्ने छैन् । कहिले ढिलो, कहिले छिटो हुन्छ नै । त्यसैले यसवर्ष छिटै भयो, के भयो भनेर चिन्ता गर्नुपर्ने आवश्यक छैन् । ३ दिनको मौसमको कुरा गर्दा प्रदेश(१ देखि गण्डकी प्रदेशसम्म हल्कादेखि मध्यम वर्षाको सम्भावना केही स्थानहरुमा छ । त्यसैले अलि सतर्क रहनुपर्ने देखिन्छ । बाढीको कुरा गर्दा साना खोला बढ्ने तत्काललाई ठूला नदीहरुमा त्यस्तो सतर्कता अपनाउनु पर्ने देखिएको छैन, तर बिस्तारै साना नदीहरुमा मनसुन लागिसकेकोले पानी बढ्ने उहाँले बताउनुभएको छ ।

विभागले आगामी ३ दिन प्रदेश(१ देखि गण्डकी प्रदेशसम्म हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताएको छ । मेघगर्जन चट्याङको सम्भावना रहेको भन्दै विभागले सतर्कता अपनाउन आग्रह गरेको छ । प्रवक्ता पोखरेलले मनसुनका कारण वर्षाको सम्भावना रहेको बताउदै साना नदीमा बाढी आउनसक्ने बताउनुभयो। यसवर्ष सरदर भन्दा बढी वर्षा हुने विभागको प्रक्षेपण रहेको छ ।

गत वर्ष पनि सरदर भन्दा बढी नै वर्षा भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*