मकवानपुरका ७ खेलाडी पनि बागमती क्रिकेट टिमको बन्द प्रशिक्षणमा

हेटौंडा । बागमती प्रदेश क्रिकेट टिमको बन्द प्रशिक्षणमा मकवानपुरका ७ जना खेलाडी परेका छन् । आगामी असोज २८ गतेदेखि कार्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीअन्तर्गत् प्रदेश क्रिकेट टिमको बन्द प्रशिक्षणमा मकवानपुरका ७ खेलाडी परेको मकवानपुर क्रिकेट संघका कार्यकारी सचिव विनोद बानियाँले जानकारी दिनुभयो ।

छनौट हुनेमा सुमन सुनार, रामनरेश गिरी, गौरव खड्का, रिजन ढकाल, शुभ कंशाकार, तक्षक सिंखडा र समिर चौलागाईं रहेका छन् । छनौट भएका खेलाडीहरु बुधबारबाट काठमाडौंमा सुरु हुने बन्द प्रशिक्षणमा सहभागी हुनेछन् । प्रदेशले क्रिकेटको बन्द प्रशिक्षणका लागि अहिले ३४ खेलाडी बोलाएको छ ।

बन्द प्रशिक्षणपछि १४ खेलाडी नवौं राष्ट्रिय खेलकुदका लागि छनौट हुनेछन् । बागमती प्रदेशले प्रदेशमा छनौट खेलाडीहरुलाई ४५ दिन बन्द प्रशिक्षणमा राख्ने निर्णय गरेको छ । मकवानपुर क्रिकेट टिमले प्रथम बागमती खेलकुद प्रतियोगितामा धादिङलाई हराउँदै विजेता बनेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*