विश्वविख्यात पर्वतारोही हिलारीको शव मनास्लुमा भेटियो

काठमाडौं– मनास्लु हिमालमा बेपत्ता भएकी विश्वविख्यात अमेरिकी स्की पर्वतारोही हिलारी नेल्सनको शव भेटिएको छ । मनाङ प्रहरीका अनुसार गोरखा र मनाङको सिमानामा अमेरिकी स्कि माउन्टेनर ४९ वर्षीया हिलारी नेल्सनको शव फेला परेको छ ।

मनास्लु हिमाल पर्वतारोहणको लागि गएकी उनी मंगलबार हिमालको तल्लो क्षेत्रमा हिमपहिरोमा परी हराएकी थिइन् । दुई सन्तानकी आमासमेत रहेकी नेल्सनल अनुभवी स्कि माउन्टेनर हुन् । सन् २०१२ मा उनले सगरमाथाको आरोहण गरेकी थिइन् । लगत्तै २४ घण्टामा उनले ल्होत्से हिमालको पनि आरोहण गरेकी थिइन् । हिलारीले सन् २०१८ मा पनि जिम मौरिसनसँगै स्की गर्दै ल्होप्से हिमालको चुचुरोबाट अवरोहण गरेकी थिइन् । ८ हजार मिटरमाथिको दुईवटा हिमालको चुचुरोबाट स्की गर्दै अवरोहण गरेको कीर्तिमान पनि उनको नाममा रहेको छ ।

त्यसयता उनले नेपालका विभिन्न हिमालको आरोहण गर्दै आएकी थिइन् । धेरैजसो उनी आफ्ना पति जिम मौरिसनसँगै हिमाल आरोहणका लागि जाने गरेकी थिइन् । मंगलबार मनास्लु आरोहणमा जाँदा पनि मौरिसन उनीसँगै थिए । सो क्रममा उनको स्कि ब्लेड चिप्लिएर उनी खस्नपुगेकी थिइन् । उनीसँगै स्की गर्न गएका पति मौरिसन भने सकुशल आधार शिविरमा फर्कन सफल भएका थिए । हिलारी मनाङतर्फ पर्ने भीमथाङमा हराएकी थिइन् ।
अमेरिकाको सियाटलमा जन्मिएकी हिलारीलाई सन् २०१८ मा नेसनल जोग्रोफिकले साहसी खेलाडीको सूचीमा राखेको थियो । सन् २००५ मा उनले चोयु हिमालको चुचुरोबाट स्की गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु