हरिवंशको उम्मेदवारलाई आग्रह – हामीबाट चुनाव प्रचारको आशा नराख्नुहोला

काठमाडौं । मुलक यतिबेला चुनावी माहोलमा होमिएको छ । उम्मेदवारी दर्ता सकिएको छ भने निर्वाचन आयोगले बुधबार अन्तिम नामावली प्रकाशन गर्दैछ ।

ठूला दलले निष्ठावान् र सक्षम नेतालाई भन्दा आफू निकट र नाता पर्नेलाई मात्र टिकट दिएको भन्ने गुनासो पनि व्याप्त छ । दलले पति-पत्नीदेखि परिवारकै सदस्य, नातागोतालाई पनि टिकट दिलाएको आरोप लागिरहेको छ ।

पार्टीमा लामो समय योगदान दिएका र सक्षम नेताले टिकट नपाउँदा बागीदेखि स्वतन्त्र उम्मेदवारी पनि दिएका छन् । कतिपयले पार्टीबाटै विद्रोह पनि गरेका छन् ।

यस सन्दर्भमा अभिनेता हरिवंश आचार्यले सामाजिक सञ्जालमा स्टाटस लेख्दै नागरिकको स्वविवेकलाई सम्मान गर्न आग्रह गरेका छन् । कसैको पक्षमा भोट माग्न र कसैको प्रचारक बन्न नसकिने बताउँदै हरिवंशले आफूहरुबाट चुनाव प्रचारको आशा नराख्न आग्रह गरेका छन् ।

उम्मेदवारहरुलाई लक्षित गर्दै हरिवंश लेख्छन्, ‘कतिले बिर्सनै नसकिने गुन लगाएका हुन्छन् । कतिसँग गहिरो मित्रता हुन्छ । कतिसँग नाता गासिएको हुन्छ । देशमा जब निर्वाचन आउँछ, त्यसबखत ती मित्रता, ती नाता र आत्मीय सम्बन्ध गाँसिएका व्यक्तिहरु उम्मेदवार बन्दछन् ।’

उनी अगाडि लेख्छन्, ‘त्यसबखत हामीसँग केही आशा राख्नु स्वभाविक हो । मलाई चुनावमा मद्दत गरिदेला, मेरो पक्षमा भोट मागिदेला भनेर । तर हामी सबै राजनीतिक दल, सबै उम्मेदवारका साझा मानिस हौं । ब्यालेट बक्समा खसाल्ने मतपत्र को, कुन, चिन्न रोज्ने भन्ने कुरा स्वविवेक हो ।’

हरिवंशले कसैको पक्षमा भोट माग्न र कसैको प्रचारक हुन नसकिने समेत स्पष्ट पारेका छन् । उनले भनेका छन्, ‘यो हाम्रो बाध्यता हो । त्यसैले मित्रता, आत्मीयता र नातालाई पवित्र नै राखी चुनावमा हामीबाट प्रचारप्रसारको आशा नगरिदिन अनुरोध गर्दछु ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*