हेटौंंडामा नेपथ्यको कन्सर्ट हुँदै

हेटौंडा । मानवसेवा आश्रम हेटौंडाले नेपथ्य ब्याण्डसँगको सहकार्यमा देशव्यापी सांगीतिक यात्रा गर्ने भएको छ । आश्रमको भवन निर्माण तथा अक्षयकोष स्थापना गर्ने उद्देश्यले देशका विभिन्न १० वटा शहरमा सांगीतिक यात्रा गर्न लागेको हो ।

शुक्रबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गर्दै मानवताका लागि सांगीतिक यात्रा नेपथ्य लाइभ कन्सर्ट हुने आश्रमले जानकारी दिएको छ । सांगीतिक यात्राअन्तर्गत् आगामी मंसिर २२ गते हेटौंडामा नेपथ्य लाइभ कन्सर्ट हुने पत्रकार सम्मेलनमा बताइएको छ । विशेषगरी भोजन सेवाका लागि सहयोगी दाता बढाउन हेटौंडामा कन्सर्ट गर्न लागेको मानवसेवा आश्रमले जनाएको छ । कन्सर्टबाट मानवसेवा आश्रमले भोजन सेवा तथा आश्रममा आश्रित बालबालिकाको स्वास्थ्य उपचारका लागि सहयोग रकम उठाउने लक्ष्य राखेको छ ।

हेटौंडामा हुने कार्यक्रममा ७ हजार दर्शक उपस्थित गराउने लक्ष्यसहित कन्सर्टको टिकट बिक्री भइरहेको छ । हालसम्म हेटौंडामा ३ हजार वटा टिकट बिक्री भएको र ४ हजार टिकट बिक्री गर्न बाँकी रहेको पत्रकार सम्मेलनमा जानकारी दिइयो । मंसिर २२ गते बेलुका ४ बजेदेखि ८ बजेसम्म हेटौंडा—४ स्थित भूटनदेवी माध्यमिक विद्यालयको प्राङ्गणमा नेपथ्य लाइभ कन्सर्ट हुनेछ । कन्सर्टमा ४० लाख रुपैयाँ खर्च हुने आश्रमले जानकारी दिएको छ ।
आगामी मंसिर १६ गते विराटनगरबाट सुरु हुने नेपथ्य लाइभ कन्सर्टको सांगीतिक यात्रा पुस १६ गते काठमाडौंमा पुगेर समापन हुनेछ । विभिन्न १० शहरहरुमा हुने लाइभ कन्सर्टमा ४ करोड रुपैयाँ खर्च हुने र २ करोड रुपैयाँ बचत गर्ने लक्ष्य मानवसेवा आश्रमको रहेको छ ।

नेपथ्य लाइभ कन्सर्ट सडकमा कष्टकर जीवन बिताइरहेका आमाहरु बलात्कृत भई जन्मेका बालबालिकाको स्याहार तथा स्वास्थ्य उपचारका लागि हुन लागेको बताइएको छ । मानवसेवा आश्रमको निर्माणाधीन भवनलाई पूर्णता दिई भाडाको घरमा रहेका मानवसेवा आश्रमलाई आफ्नै भवनमा सार्न, मानवसेवा आश्रमको लागि कुनै पनि प्रकारको विपत्ति, भवितव्य वा कठिन परिस्थितिमा प्रयोग गर्न मिल्ने गरी कम्तिमा २५ करोड रुपैयाँ बराबरको अक्षयकोष स्थापना गर्न कन्सर्ट गर्न लागेको जनाइएको छ ।

देशको कुनैपनि स्थानमा अति कष्टपूर्ण जीवन बिताइरहेका मानवहरु देखिए, भेटिए यथाशिघ्र उद्दार हुने पारिपाटी निर्माण, परिवार भेटिएकाहरुको पारिवारिक पुनर्मिलन तथा औषधी उपचार प्रयोजनका लागि उद्दार बहान÷एम्बुलेन्स व्यवस्थापन गर्न कन्सर्ट हुने जनाइएको छ । जनजनमा मानवताको बिजारोपण गरी घरपरिवार र आफन्तबाट परित्यक्त भई सडकमा पुगेका मानवहरुको यथार्थ अवस्था, उनीहरुप्रति हरेक नागरिकले गर्नुपर्ने मानवीय व्यवहार, सहयोगापेक्षी सडक आश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माणका लागि आम जनमानसबाट गरिएको अपेक्षा र सडक आश्रित हुने अवस्थाको न्यूनीकरणका लागि जनचेतना जगाउने कन्सर्टको उद्देश्य छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*