चलचित्र पत्रकार संघ मकवानपुरको अध्यक्षमा पुनः कपिल खड्का
हेटौंडा । चलचित्र पत्रकार संघ मकवानपुरको अध्यक्षमा पुनः कपिल खड्का निर्वाचित हुनुभएको छ । सोमबार बिहान हेटौंडामा सम्पन्न १३ औं वार्षिक साधारणसभाबाट दोस्रो कार्यकालका लागि खड्काको नेतृत्वमा सर्वसम्मत नयाँ समिति चयन भएको हो ।
संघको उपाध्यक्षमा श्रीराम अर्जुन, सचिवमा रविन्द्र गौतम र कोषाध्यक्षमा मनोज देवकोटा, सहसचिवमा दिपेश दाहाल, सदस्यमा मञ्जु मैनाली, सन्नु रिजाल, प्रवेश धिताल चयन हुनुभएको छ । नवनिर्वाचित समितिको कार्यकाल ३ वर्षको हुनेछ । यसअघि अध्यक्ष कपिल खड्काको सभाध्यक्ष तथा बागमती प्रदेश सरकारका भौतिक पुर्वधार राज्यमन्त्री सन्त बहादुर चेपाङको प्रमुख आतिथ्यमा साधारणसभाको उद्घाटन कार्यक्रम भएको थियो ।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री चेपाङले नेपाली संस्कृती जोगाउने चलचित्र निर्माण गर्नुपर्ने बताउनुभएको छ । चलचित्र निर्माण गर्दा चेपाङ जस्ता अन्य लोपुन्मुख जातिहरुको कथालाई समेट्न पनि उहाँले आग्रह गर्नुभएको छ । उद्घाटन कार्यक्रममा चलचित्र पत्रकार संघ मकवानपुरका संस्थापक अध्यक्ष कुमार अधिकारी, निवर्तमान अध्यक्ष तथा पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतम, पत्रकार महासंघ बागमती प्रदेशका उपाध्यक्ष रुपेश दुलाल लगायतको उपस्थिति रहेको थियो ।