आज परराष्ट्रमन्त्री श्रेष्ठ स्वदेश फर्कँदै
काठमाडौं । चीनको औपचारिक भ्रमणमा रहनु भएका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ आज स्वदेश फर्कँदै हुनुहुन्छ ।
भ्रमणका क्रममा उपप्रधानमन्त्री श्रेष्ठले चिनियाँ जनराजनीतिक परामर्श सम्मेलन (सिपिपिसिसी) का अध्यक्ष वाङ हुनिन, चिनियाँ समकक्षी वाङ यीलगायत उच्च राजनीतिक नेतृत्वसँग भेटवार्ता गर्नुभएको थियो । भेटवार्तामा उहाँहरूबिच द्विपक्षीय सम्बन्धका बारेमा छलफल भएको थियो ।
यसैगरि उपप्रधानमन्त्री श्रेष्ठले चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभागका उपमन्त्री सुन हाइयानसँग पनि भेट गर्नु भएको थियो । भेटवार्तामा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र र चिनियाँ कम्युनिस्ट पार्टीबिचको सम्बन्धलाई अझ प्रगाढ बनाउने विषयमा छलफल भएको थियो ।
बेइजिङमा उपप्रधानमन्त्री श्रेष्ठले नेपाली दूतावासमा आयोजित पूर्वलगानी सम्मेलनलाई सम्बोधन गर्नुभएको थियो । त्यस क्रममा उहाँले चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी गर्नका लागि आह्वान गर्नु भएको थियो ।
यस्तै उपप्रधानमन्त्री श्रेष्ठले चीनको सिजाङ्ग स्वायत्त क्षेत्रका पार्टी सचिव वाङ झुङहेङसँग भेटवार्ता गर्नुभएको छ भने नेपाल–चीन सीमा क्षेत्रका नागरिकले भोग्नु परेको समस्या समाधान गर्न आग्रह गर्नुभयो । यस्तै उहाँले ल्हासास्थित नेपाली महावाणिज्य दूतावास र तिब्बतमा रहेको कैलाश मानसरोवर क्षेत्रको अवलोकन पनि गर्नुभयो ।
उपप्रधानमन्त्री श्रेष्ठ चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा यही चैत १२ गते चीन भ्रमणमा जानु भएको थियो ।