शेयर बजारमा उछाल , आज १५ अर्ब ५४ करोड रुपैयाँको कारोबार
काठमाण्डौ । शेयर बजार लगातार तेस्रो दिन पनि उच्च अङ्कले बढेको छ । आज नेप्से ५९.६८ अङ्कले बढेर २ हजार ४ सय २४ दशमलव ३२ विन्दुमा पुगेको छ । नेप्से २७ महिनायताकै उच्च विन्दुमा पुगेको हो । यसअघि २०७९ साल वैशाख ११ गते नेप्से दुई हजार चार सय २० विन्दुमा नेप्से पुगेको थियो ।
आज फाइनान्स र जलविद्युत् बाहेक सबै समूहको शेयर बढेकोमा बीमा, माइक्रोफाइनान्स, उत्पादन, बैंकिङ समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ । आज नेपाल इनभेस्टमेन्ट मेगा बैंक, नेपाल फाइनान्स, आँखु खोला जलविद्युत् कम्पनी, उपकार लघुवित्त र थ्री स्टार हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन कुमारी सबल योजनाको शेयर भने साढे पाँच प्रतिशतभन्दा धेरैले घटेको छ ।
आज कारोबार रकम पनि उल्लेख्य बढेको छ । आज तीन सय १२ वटा कम्पनीका ३ करोड ९९ लाख कित्ता शेयर १५ अर्ब ५४ करोड रुपैयाँमा कारोबार भएको छ । यो कारोबार रकम ३५ महिनायताकै उच्च हो । यसअघि २०७८ साल भदौ १३ गते १५ अर्ब ६५ करोड रुपैयाँको कारोबार भएको थियो ।