संक्रमणकालीन न्यायसँग सम्बन्धित विषयमा सहमति जुटाउन कार्यदलको बैठक जारी
काठमाडौं । संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकका विषयमा सहमति जुटाउन गठित कार्यदलको बैठक जारी रहेको छ। बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐनलाई संशोधन गर्न बनेको विधेयकमा रहेका विमतिका विषयलाई टुंग्याउन आज पनि सिंहदरबारमा बैठक बसेको हो।
संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकका विषयमा सहमति जुटाउन गठित कार्यदलमा महेश बर्तौला, जनार्दन शर्मा र रमेश लेखक छन्। विधेयकमाथि रहेका असहमतिमा सैद्धान्तिक सहमति भइसकेको र सरोकारवालासँग छलफल गरेपछि आज अन्तिम रुप दिने गरी बैठक बसेको बताइएको छ। गत शुक्रबार बसेको कार्यदलको बैठकले विधेयकका विषयलाई अन्तिम रुप दिनु अगाडि सरोकारवालासँग छलफल गर्ने निर्णय गरेको थियो।
आजको बैठक कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसिया, संसदको कानून, न्याय तथा मानव अधिकार समितिका सभापति बिमला सुवेदी र महान्याधिवक्ता रमेश बडाल लगायतको सहभागिता छ।
संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई पीडितलाई केन्द्रमा राखेर टुंग्याउनका लागि असहमतिका चार बुँदामा सहमतिका लागि दलहरुबीच निरन्तर छलफल भइरहेको छ। मानव अधिकारको गम्भीर उलंघन, हत्याको परिभाषा, सशस्त्र द्वन्द्वका क्रममा जोडिएका र प्रभावित भएका व्यक्ति र महान्यायाधिवक्ताले गम्भीर मानव अधिकार उल्लंघनको विषयमा घटि माग दाबी लिएर जाने विषयमा सहमति नजिक पुगेको कार्यदलका सदस्यको भनाई छ।
आजको बैठकले अन्तिम प्रतिवेदन तयार गरेर शीर्ष तहलाई बुझाउने तयारी छ।