राष्ट्रिय दल बन्न चाहिने थ्रेसहोल्ड को प्रतिशत बढाइन्छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले संविधान संशोधन गरेर राष्ट्रिय दल बन्न चाहिने थ्रेसहोल्डु को प्रतिशत बढाउने बताउनुभएको छ ।
दाङमा आज भएको एक कार्यक्रममा महासचिव पोखरेलले राष्ट्रिय दल बन्न तीन प्रतिशत मात्रै थ्रेसहोल्ड मत आवश्यक पर्ने संवैधानिक व्यवस्था भएकाले राजनीतिक अस्थिरता बढेको भन्दै थ्रेसहोल्डको प्रतिशत बढाउन संविधान संशोधन गरिने बताउनुभएको हो । सरकार बनाउँदा साना दलका माग र किचलोका कारण सरकार अस्थिर हुने बताउँदै उहाँले त्यसको अन्त्य गर्ने अभियानमा एमाले हिँडेको बताउनुभयो ।
पोखरेलले प्राप्त उपलब्धिको रक्षाका लागि कांग्रेस र एमाले मिल्नु अहिलेको आवश्यकता भएको पनि जिकिर गर्नुभयो । उहाँले पुराना दल चाहिँदैन भन्ने भाष्य बनाउन खोजिएको उल्लेख गर्दै देशमा विकास र समृद्धिका लागि पुराना र स्थापित दल नै आवश्यक भएको बताउनुभयो । एमालेका महासचिव पोखरेलले ठूला दलकै कारण देशमा विकास र परिवर्तन भएका दाबी गर्नुभयो ।