थामे बाढीमा हिमपोखरी नै फुटेको पुष्टि

काठमाडौं– सोलुखुम्बुको खुम्बु पासाङह्लामु गाउँपालिका–५ मा पर्ने थामे खोलामा शुक्रबार चलेको बाढीमा हिमपोखरी नै फुटेको पाइएको छ ।

टासी लाप्चा क्षेत्रमा रहेका प्रमुख ५ मध्ये हिजोको बाढीमा २ वटा हिमपोखरी फुटेको थुलुङ दूधकोशी गाउँपालिका(७ का वडाध्यक्ष भोजराज कार्कीले जानकारी दिएका हुन्‌ ।

रक्षामन्त्री मानवीर राईसहित खुम्बु क्षेत्रको थामे पुगेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणले पनि हेलिकोप्टरबाट खिचिएको जलाधार क्षेत्रको केही फोटो उपलब्ध गराएको छ । सो फोटोमा बाढीले २ वटा हिमपोखरी सोहरेको र अन्य २ हिमपोखरी उच्च जोखिममा रहेको देखिएको छ ।

तस्बिर विश्लेषण गर्दा बाढी आउनुअघि हिमपोखरीको जलसतहको घेरा र बाढी आएपछि घटेको पानीको सतह स्पष्ट देखिन्छ । सो बाढी हिमपोखरी फुटेर मात्रै आयो या त्यो भन्दा माथिल्लो क्याचमेन्ट एरिया (जलाधार क्षेत्र) बाटै बाढी शुरू भयो एकीन जानकारी सरकारी अधिकारीहरूले हालसम्म दिएका छैनन्‌ ।

भूगर्भविद्‌हरूले तापक्रम र वर्षाका कारण हिउँ तीव्र गतिमा पग्लिएर पर्माफ्रोस्ट (बालुवा र हिउँ मिसिएर वर्षौंदेखि शून्य डिग्री सेल्सियसभन्दा कम तापक्रममा जमेको जमिन) नै बगाउँदा बाढी उत्पन्न भएको र सो बाढीले टासी लाप्चामा रहेका केही हिमपोखरीलाई पनि सोहरेको पूर्वानुमान गरेका थिए । उपलब्ध तस्बिर विश्लेषण गर्दा भूगर्भविद्‌हरूको आकलन सटिक रहेको पुष्टि भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*