पानी पार्ने प्रणाली नेपालतिर सर्यो, विपत्तिको जोखिम

काठमाडौं । मौसमविदले नेपालभर जारी मनसुन अवधिकै भीषण वर्षाको सम्भावना औंल्याएका छन् । त्यसैले विहीबारदेखि आइतबारसम्म उच्चसतर्कता अपनाउनुपर्ने उनीहरुको सुझाव छ ।

वरिष्ठ मौसमविद् एवम् त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्रध्यापक डा। विनोद पोखरेलका अनुसार नेपालका केही स्थानमा चार सय मिलिमिटरसम्म वर्षा हुने सम्भावना छ । यसले दशैंको मुखमा बाढी, पहिरो र डुबानको समस्या ल्याउने खतरा छ ।

बंगालको खाडी र अरब सागर दुवैतर्फबाट जलवाष्पयुक्त वायु नेपाल प्रवेश गरेकाले अत्यधिक वर्षाका लागि अनुकूल वातावरण बनेको छ । साथै यस वर्ष अत्यधिक गर्मी भएकाले वायुमण्डलमा न्युनचापीय क्षेत्र विकास भएको छ ।

न्युन चापीय क्षेत्र भन्नाले हावाको चाप कम भएको र वर्षा गराउने बादल बनेको क्षेत्र भनेर बुझिन्छ । अहिले यो क्षेत्र अधिक गहिरो (जमिनको सतहदेखि वायुमण्डलको मध्यक्षेत्रसम्म फैलिएको) छ । त्यसैले मौसमविदले भिषण वर्षाको प्रक्षेपण गरेका हुन् ।

‘बंगालको खाडी र अरब सागर दुवैतर्फबाट जलवाष्पयुक्त वायु नेपाल आइरहेको छ,’ मौसमविद पोखरेलले अनलाइनखबरसँग भने, ‘अर्कोतर्फ यस वर्षको मनसुन अवधिमै तापक्रम अधिक छ, जसलाई सामान्य मान्न सकिँदैन । त्यसैले मौसम पूर्वानुमानका तीनवटै मोडेलले अत्यधिक वर्षाका लागि अनुकूल वातावरण बनेको देखाएको छ ।’

उनका अनुसार नेपालका धेरै स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना छ । केही स्थानमा भने धेरै भारी वर्षाको पनि सम्भावना छ । उनले भने, ‘नेपालभरि यो मनसुन अवधिकै भिषण वर्षाको सम्भावना रहेकाले बिहीबारदेखि आइतबारसम्म सचेत रहनुपर्छ ।’

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*