हेटौंडामा ८ किलो सुनसहित २ जना भारतीय पक्राउ
हेटौंडा । हेटौंडाबाट ८ किलो २४३ ग्राम ९७० मिलिग्राम सुनसहित दुई जना भारतीय पक्राउ परेका छन् ।
आज शनिबार बिहान ३ बजेको समयमा विशेष सूचनाको आधारमा प्रहरीले हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटे चेकपोष्टस्थित पूर्व-पश्चिम सडकखण्डमा पथलैयाबाट हेटौंडातर्फ आउँदै गरेको बागमती प्रदेश ०२–०४७ प ७५०३ नम्बरको स्कुटरलाई जाँच गर्दा सुन फेला परेको थियो ।
बरामद सुनको मूल्य ११ करोड ४३ लाख ५७ हजार ८७८ रुपैयाँ ६५० रूपैयाँ बराबरको रहेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा भारत महाराष्ट्र सांगली जिल्ला दिघंची थाना पुजारवाडी बस्ने २५ वर्षीय अभिषेक अजिनाथ कुटी र २७ वर्षीय राहुल भिट्टिहाल बाड रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका एसपी विश्वराज खड्काले जानकारी दिए ।
सुन तस्करीको विशेष सूचना पाएपछि एसपी खड्काकै कमाण्डमा प्रहरी टोली खटिएको थियो । उनका अनुसार पक्राउ परेका दुवै जनाले जनकपुरबाट पथलैयासम्म बसमा र पथलैयाबाट स्कुटरमा यात्रा गरिरहेका थिए ।
उनीहरूले सुन काठमाडौंको गौशाला पुर्याउन लागेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । पक्राउ परेका कुटी र बाडले यसअघि ८ असोजमा २ किलो सुन काठमाडौंमा पुर्याएको समेत खुलेको छ ।
उनीहरूलाई हङकङबाट परिचालन गरिएको हुनसक्ने एसपी खड्काले जानकारी दिए । हङकङको गिरोहसँग ह्वाट्स एपमा कुराकानी हुने गरेको खुलेको उनले बताए ।