चिलिमे—त्रिशूली २२० केभी प्रसारण लाइनको निर्माण सम्पन्न
काठमाडौं । त्रिशूली नदी र त्यसका सहायक खोलाहरूमा निर्माणाधीन तथा निर्माण हुने जलविद्युत आयोजनाहरूबाट उत्पादित विद्युत राष्ट्रिय प्रणालीमा प्रवाह गर्न सुरु गरिएको चिलिमे—त्रिशूली २२० केभी प्रसारण लाइनको निर्माण सम्पन्न भएको छ ।
रसुवाको आमाछोदिङमो गाउँपालिका थम्बुचेतस्थित चिलिमे हब सबस्टेसनदेखि नुवाकोटको किस्पाङ गाउँपालिकाको पहिरेबेंसीस्थित त्रिशूली थ्री बी हब सबस्टेसनसम्मको २८ किलोमिटर प्रसारण लाइन निर्माण सम्पन्न भएको हो ।
दशैं र तिहारको सार्वजनिक विदामा समेत कर्मचारी, निर्माण व्यवसायी अहोरात्र खटी प्रसारण लाइन निर्माण सम्पन्न गरिएको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।
कार्यकारी निर्देशक घिसिङले प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युतको अगुवाइमा निर्माण भएका १११ मेगावाटका रसुवागढी र ४२।५ मेगावाटको साञ्जेनसहित रसुवामा निर्माणाधीन तथा निर्माण हुने जलविद्युत आयोजनाको विद्युत् प्रवाहका लागि प्रसारण लाइन पूर्वाधार तयार भएको उल्लेख गरे ।
रसुवागढी र साञ्जेन आयोजना निर्माण सम्पन्न भई विद्युत् उत्पादनको चरणमा छन् । भौगोलिक रूपमा अत्यन्तै जोखिमयुक्त र कठिन हिमाली क्षेत्रमा टावर बनाउनु पर्ने, भीरैभीर रहेको र सडक पनि नभएकाले निर्माण सामग्री मानिस या खच्चडबाट बोकाएर लैजानुपर्ने अवस्था रहे पनि काम गरिएको उनले बताए ।