दार्चुला दुर्घटनामा ८ जनाको मृत्यु
काठमाडौं । दार्चुलामा भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या आठ पुगेको छ । दुर्घटनामा पाँचजना घाइते छन् । घाइतेहरूको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको छ ।
मृत्यु हुनेमा लेकम गाउँपालिकाकाका ३० वर्षीय वीरेन्द्र रावल, २५ वर्षीया शान्ति रावल, शैल्यशिखर–९ नक्तडका ४५ दिलीप विष्ट, ४० वर्षीया मीना लेखक, बैतडीको डिलासैनी गाउँपालिका–५ का ५० वर्षिय वीरेन्द्र बोहरा र १६ वर्षीया सुजित बोहरा रहेका छन् । यस्तै दुर्घटनामा दुई भारतीय नागरिकको मृत्यु भएको छ । भारत विजनोर मोभारपुरका ४५ वर्षीय मोहम्मद सकिर र १८ वर्षीय मोहम्मद बसिलको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मालिकार्जुनबाट गोकुलेश्वरतर्फ जाँदै गरेको म १ ज ३३८ नम्बरको जिप आज बिहान ४ बजे शैल्यशिखर नगरपालिका–६ मा दुर्घटना भएको थियो । जिपमा १३ जना सवार थिए ।
स्थानीय मालिकार्जुन मन्दिरमा लागेको जात्रा हेरेर फर्किरहेका दर्शनार्थी सवार भएको जिप दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।