पत्रकार महासंघ मकवानपुरको अध्यक्षमा बालकृष्ण अधिकारी निर्वाचित
हेटौंडा । नेपाल पत्रकार महासंघ जिल्ला शाखा मकवानपुरको अध्यक्षमा बालकृष्ण अधिकारी निर्वाचित हुनुभएको छ । शुक्रबार सम्पन्न निर्वाचनमा अधिकारीले ४५ मत प्राप्त गर्दै विजयी हुनुभएको हो । उहाँको निकटतम् प्रतिद्वन्द्वी अञ्जली थापाले ३६ मत प्राप्त गर्नुभयो ।
अर्का उम्मेद्वार पोष्टराज अधिकारीले २० मत प्राप्त गर्दा अध्यक्षका अर्का आकांक्षी सुरेश श्रेष्ठले ३ मत मात्रै प्राप्त गर्नुभयो । महासंघको उपाध्यक्षमा ५५ मत प्राप्त गर्दै ध्रुव अधिकारी निर्वाचित हुनुभएको छ भने भने उहाँका निकटतम प्रतिद्न्दी गणेश अधिकारी ४९ मतसहित पराजित हुनुभयो । महिला उपाध्यक्षतर्फ भावना रिजाल ५५ मतसहित निर्वाचित हुँदा अर्की निकटतम प्रतिद्न्दी प्रतिक्षा न्यौपाने ४४ मत प्राप्त गर्दै पराजित हुनुभयो ।
महासंघको सचिवमा केशव सुवेदी निर्वाचित हुनुभएको छ । इन्द्रप्रसाद बञ्जारालाई हराउँदै केशव सुवेदी महासंघका सचिवमा निर्वाचित हुनुभएको हो । सुवेदीले ७३ मत प्राप्त गर्दा बञ्जाराले ३३ मत मात्र प्राप्त गर्नुभयो । कोषाध्यक्षमा प्रदीप अधिकारी निर्वाचित हुनुभएको छ । अधिकारीले ५२ मत प्राप्त गर्दै विजयी हुनुहुँदा एमपी शर्माले ५१ मत प्राप्त गर्नुभयो । यस्तै सहसचिवमा शिव प्रसाद चौलागाईं निर्वाचित हुनुभएको छ ।
सहसचिवमा निर्वाचित चौलागाईले ६५ मत प्राप्त गर्दा अर्का आकांक्षी विश्वराम अधिकारीले ३९ मत मात्र प्राप्त गर्नुभयो । समावेशी सहसचिवमा रुपा गुरुङलाई हराउँदै सन्नु रिजाल निर्वाचित हुनुभएको छ । रिजालले ५८ मत पाउँदा गुरुङले ४० मत मात्र प्राप्त गर्नुभयो । निर्वाचन कार्यक्रम अन्तर्गत कूल ११७ जना मध्ये १०७ जनाले मात्र मतदान गरेका थिए ।
यस्तै महिला सदस्यमा स्मिता अर्जेल ४८ मत प्राप्त गर्दै निर्वाचित हुनुभयो । जनजाति सदस्यतर्फ सानुमाया गुरुङ ४९ मतसहित निर्वाचित हुनुभयो । खुला सदस्यमा सरोज पौडेल (६५ मत), रविन ढुंगाना (५९ मत), श्रीराम अर्जुन दहाल (५७ मत), श्यामलाल दुलाल (५३ मत), सुमन दाहाल (५२ मत), अनिल पराजुली (५१) र कृष्णा विष्ट (५० मत) विजयी हुनुभएको छ ।