रवि लामिछाने विरुद्ध मुद्दा दर्ताको अन्तिम तयारी

काठमाडौं । सहकारी ठगी प्रकरणमा जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने विरुद्ध मुद्दा दर्ता गर्ने तयारी अन्तिम चरणमा पुगेको छ ।

जिल्ला प्रहरी कार्यालयले यही पुस १ गते सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो । सो प्रतिवेदनमा लामिछाने, गोर्खा मिडिया प्रालिका पूर्व सञ्चालक छविलाल जोशी लगायतविरुद्ध १ अर्ब ५१ करोड बिगो मागदाबी गर्नुपर्ने प्रहरीको राय छ ।

प्रतिवेदन अध्ययनको काम भइरहेको भन्दै पुस १ गतेदेखि चार दिनको म्याद अदालतले थपेको थियो । चार दिनको म्याद आज शुक्रबार मध्यराति १२ बजेपछि सकिँदै छ । शनिबार सार्वजनिक बिदा हुने भएकाले सकेसम्म आजै वा आइतबार अदालतमा मुद्दा दर्ता गर्ने तयारी छ ।

‘कानुन बमोजिम ९० दिनभित्र अभियोजन गरिसक्नुपर्ने भएकाले अभियोजन गर्न आइतबारसम्म समयसीमा छ,’ जिल्ला सरकारी वकिलको कार्यालय कास्की स्रोतले भन्यो, ‘सकेसम्म आजै नभए आइतबारसम्म अभियोजन हुन्छ ।’

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु