हेटौँडामा समाजसेवी स्व. काशीनाथ बजगाईको प्रतिमा अनावरण

मकवानपुर । हेटौँडामा सामाजिक व्यक्तित्व स्वर्गीय काशीनाथ बजगाईको प्रतिमा अनावरण गरिएको छ । हेटौँडा उपमहानगरपालिका वडा नम्बर ११ नवलपुरमा बजगाईको प्रतिमा अनावरण गरिएको हो । विहिवार भएको कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि एवम् बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेल र स्व. बजगाईको पत्नी कृष्णमाया बजगाईले प्रतिमा अनावरण गर्नु भएको हो ।

तत्कालिन नगर पञ्चायत वडा नम्बर ११ का अध्यक्ष समेत रहेका स्व.बजगाईले बाटो निर्माण, खानेपानीको समस्या हल गर्न पाईपलाईनको बिस्तार,पुस्तकालय स्थापना, पाठशाला निर्माण, शिक्षाको विकासका साथै अन्य विभिन्न सामाजिक कार्यमा अतुलनिय योग्दान रहेको प्रमुख अतिथी डोरमणी पौडेलले बताउनुभयो । । आफ्नो पिताले गरेका योग्दानको सम्मान स्वरुप  प्रतिमा अनावरण गरिएकोे स्वर्गीय बजगाईका छोरा बालकृष्ण बजगाईँले बताउनुभयो । कार्यक्रममा करिब ६० जना जेष्ठ नागरिकहरुलाई दोसल्ला ओढाई सम्मान समेत गरिएको थियो ।

कार्यक्रम स्वर्गीय काशीनाथ बजगाईकी पत्नी कृष्णमाया बजगाईको सभाध्यक्षतामा भएको हो । कार्यक्रममा हेटौँडा ११ की वडाअध्यक्ष जुना दाहाल,बजगाई परिवारका जेष्ठ सदस्य महेश्वर बजगाई, जिल्ला ट्राफिक कार्यालय मकवानपुरका प्रहरी निरिक्षक केशव अधिकारी, मकवानपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष अरुणराज सुमार्गी, उद्योगतर्फका उपाध्यक्ष प्रमोदसिंह रानाभाट, वाणिज्यतर्फका उपाध्यक्ष अनिल अग्रवालका साथै संघका कार्य समिति सदस्यहरु, वडा सदस्य, विभिन्न राजनीतिक दल, सहकारी, विद्यालय, मन्दिर, संघसंस्थाका प्रतिनिधि तथा स्थानीयहरुको सहभागिता रहेको थियो । वि. सं. २००१ मा जन्मिएका बजगाई २०४३ पुस १२ मा दिवंगत हुनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु