एमाले केन्द्रीय कमिटी बैठक सुरु
काठमाडौं । प्रमुख सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आठौं केन्द्रीय समिति बैठक ललितपुरको च्यासलस्थित कार्यालयमा सुरु भएको छ ।
१० महिनापछि बस्न लागेको यो बैठकमा पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दैछन्।
एमाले केन्द्रीय कमिटी बैठक २०८० फागुनमा बसेयता बस्न सकेको थिएन । २०८१ असार ३० गते ओली प्रधानमन्त्री बनेयता यो पहिलो केन्द्रीय कमिटी बैठक हो ।
ओलीले सरकार बनेयताको अवधि र नेपाली कांग्रेससँगको सत्ता सहकार्यबारे पनि समीक्षात्मक प्रतिवेदन पेश गर्दै छन् ।
ओलीको प्रतिवेदनमाथि यस पटक हरेक केन्द्रीय सदस्यहरूलाई बेग्लाबेग्लै बोल्न दिइने भएको छ । बैठकका सहभागी हरेक सदस्यले ३ मिनेट बोल्न पाउने भएका छन् ।
ओलीको प्रतिवेदनमा गठबन्धन सरकार, सरकार बनेयताको ६ महिने उपलब्धि र आगामी दिनका कामबारे उल्लेख गरिएको प्रचार विभाग प्रमुख रहेका राजेन्द्र गौतमले बताए ।
ओलीको राजनीतिक प्रतिवेदनमा पार्टीको संगठनात्मक जीवनलाई बलियो बनाउन सञ्चालन गरिने तीन महिने अभियानबारे पनि उल्लेख गरिएको उनले बताए ।