अछाममा बाख्रा चराउन गएका दुई किशोरी मृत फेला

अछाम – अछाममा दुई किशोरी मृत फेला परेका छन् । शुक्रबारदेखि एकाएक हराएका ढकारी गाउँपालिका वडा नम्बर ८ का दुई किशोरी शनिबार मृत फेला परेका हुन् । ढकारी गाउँपालिका वडा नम्बर १ मा रहेको छिन्ने जंगलमा सरस्वती खड्का र ईश्वरी खड्काको शव फेला परेको हो ।
‘अलगअलग स्थानमा किशोरीको शव फेला परेको छ,’ अछामका प्रहरी नायब उपरीक्षक ईश्वरी भण्डारीले भने, ‘प्रहरी घटनास्थल पुगेको छ ।’
शव शनिबार साँझ फेला परेको भए पनि रातको समयमा अनुसन्धान गर्न कठिन भएकाले आइतबार जिल्लाबाट टोली हिँडेको उनले बताए ।
‘अन्दाजी १४–१५ वर्षका दुई किशोरी रहेको भन्ने बुझियो, मृत्युको कारण के हो भन्ने यकिन भन्न सकिएन,’ उनले भने, ‘शवलाई सुरक्षित राख्ने काम मात्रै भएको छ, बाँकी अनुसन्धान गर्न बाँकी छ ।’
भण्डारीका अनुसार उनीहरू शुक्रबार दिउँसो बाख्रा चराउन छिन्ने जंगल गएका थिए । बेलुका बाख्रापाठा घर फर्किए तर किशोरी फर्किएनन् ।
शनिबार आफन्त तथा गाउँले किशोरीको खोजीमा निस्किँदा शव फेला पारेको भन्दै प्रहरीलाई खबर पुगेको थियो ।