धरौटी बदरको निवेदन लिएर उच्च पुगे रवि

पोखरा । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा जिल्ला अदालत कास्कीको आदेशप्रति चित्त नबुझेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उच्च अदालत पोखरा पुगेका छन् । जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राइको इजलासले रविलाई गत पुस २५ गते ६५ लाख धरौटीमा छाड्न आदेश दिएको थियो ।
धरौटीमा छाड्ने जिल्ला अदालतको आदेशविरुद्ध उच्च सरकारी वकिलको कार्यालयले रविलाई थुनामै राखेर अनुसन्धान गर्न माग गर्दै उच्च अदालत पोखरामा निवेदन दर्ता भएको थियो ।
न्यायाधीश राजुकुमार खतिवडाको इजलासले धरौटीमा छाड्नुको कारण पेश गर्न आदेश गरेको थियो ।
अहिले पूर्व गृह तथा उपप्रधानमन्त्री रवि पनि जिल्ला अदालत कास्कीले धरौटीमा छाड्ने आदेशमा चित्त नबुझेपछि साधारण तारेखमा छाड्न माग गर्दै उच्च अदालत पुगेका हुन् ।
जिल्लाको आदेशमा चित्त नबुझेपछि फौजदारी कार्यविधि संहिताको ७३ नम्बर बमोजिम उच्च गएको रास्वपा सभापति लामिछानेका कानुन व्यवसायी डा। नारायण कडेंलले जानकारी दिए ।