पूर्वराष्ट्रपति र पूर्वप्रधानमन्त्रीलाई कुलपति बनाउने प्रस्तावमा पूर्वउपकुलपतिको असमहति

काठमाडौं । विश्वविद्यालयमा पूर्वराष्ट्रपति र पूर्वप्रधानमन्त्रीलाई कुलपति बनाउने प्रस्तावमा पूर्वउपकुलपतिहरूले असमहति जनाएका छन् ।
प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिमा मंगलबार पूर्वराष्ट्रपति र पूर्वप्रधानमन्त्रीलाई विश्वविद्यालयको कुलपति बनाउने प्रस्ताव प्रवेश गरिएको थियो । उक्त प्रस्ताव कांग्रेस संसद चन्द्र भण्डारीले गरेका थिए ।
तर यसरी पूर्वराष्ट्रपति र पूर्वप्रधानमन्त्रीलाई कुलपति बनाउँदा विश्वविद्यालयमा थप राजनीति मौलाउने बताउँछन् पूर्वउपकुलपति केदारभक्त माथेमा । ‘विश्वविद्यालयलाई राजनीतिको हिसाबले हेरिनु हुन्न । पूर्वराष्ट्रपति र प्रधानमन्त्रीलाई कुलपति बनायो भने विश्वविद्यालय दलगत हुन्छ,’ माथेमाले भने ।
माथेमाको मतमा पूर्वउपकुलपति कमलकृष्ण जोशी पनि सहमति जनाउँछन् । पूर्वराष्ट्रपति र पूर्वप्रधानमन्त्रीलाई कुलपति बनाउने बेतुकको प्रस्ताव आएको उनको टिप्पणी छ ।
‘पूर्वराष्ट्रपति र पूर्वप्रधानमन्त्रीलाई कुलपति बनाउने हो भने विश्वविद्यालयमा कहिल्यै राजनीति अन्त्य हुने भएन,’ जोशीले भने, ‘यो वाहियात प्रस्ताव हो । यो प्रस्तावलाई स्वीकार गर्न सकिँदैन ।’
विश्वविद्यालयलाई बोर्ड अफ ट्रस्टिजमा जानुपर्ने बहस लामो समयदेखि चलिरहेको छ ।