‘ओलीले वर्तमान संविधान नै खारेज गर्न खोजिरहेको छन्’ — प्रचण्ड

जनकपुरधाम । नेकपा (माओवादी केन्द्र) का अध्यष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान संविधान नै खारेज गर्न खोजिरहेको आरोप लगाएका छन् ।
सोमबार जनकपुर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै दाहालले प्रधानमन्त्री ओली संविधान खारेज भएर परिवर्तनको उपलब्धि बर्बाद होस् भन्ने पक्षमा रहेको बताएका हुन् ।
‘उहाँ (ओली) ले त आन्दोलनबाट प्राप्त परिवर्तनका सबै उपलब्धि बर्बाद होस्, संविधान नै खारेज होस् भन्ने चाहनु भएको छ’, दाहालले भने ।
ओलीले अघिल्लो कार्यकालमा दुईरदुई पटक संसद् विघटन गर्नुको तात्पर्य पनि संविधान खारेजी रहेको उनले जिकिर गरे ।
वर्तमान सरकारले ल्याएको अध्यादेश राष्ट्रिय सभाबाट पारित नहुने उनले ठोकुवा गरे । जनता समाजवादी पार्टी (जसपा) नेपालले अध्यादेशमा समर्थन गर्न नहुने प्रचण्डले जिकिर गरे ।
प्रक्रिया र कतिपय सारको दृष्टिकोणले पनि भूमिसम्बन्धी विषयमा आएको अध्यादेश गलत रहेको उनको जिकिर छ । ‘विधि र प्रक्रियासम्बन्धी विषयमा अहिलेसम्म उहाँहरू अडिनुभएको छ । मलाई लाग्छ, उहाँहरू अडिनुहुन्छ जस्तै लाग्छ’, उनले भने, ‘उहाँले आफ्नो मुद्दा छोडेर सरकारमा जानुहुन्छ जस्तो मलाई लाग्दैन ।’
राष्ट्रियसभामा बहुमत नपुग्ने भएकाले नै अध्यादेश सदनमा नपुगी अड्किएको उनले बताए ।