मकवानपुरगढीमा टी–१० क्रिकेट प्रतियोगिता हुने

हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा टी–१० क्रिकेट प्रतियोगिता हुने भएको छ ।
मकवानपुरगढी क्रिकेट क्लबसँगको सहकार्यमा मकवानपुरगढी खेलकुद विकास समितिको आयोजनामा यही फागुन १६ गतेदेखि १७ गतेसम्म टी–१० क्रिकेट प्रतियोगिता हुने भएको हो ।
दुई दिनसम्म सञ्चालन हुने प्रतियोगिता मकवानपुरगढी गाउँपालिका वडा नम्बर २ स्थित कुर्ले मैदानमा हुनेछ । मकवानपुरगढी गाउँपालिकामा पालिकाको सहयोगमा पहिलो पटक क्रिकेट प्रतियोगिता आयोजना हुन लागेको हो ।
प्रतियोगिताको संयोजक तथा मकवानपुरगढी क्रिकेट क्लबका सदस्य रवि सापकोटाका अनुसार प्रतियोगिताको विजेता टिमले नगद ३० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टोलीले नगद २० हजार ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
प्रतियोगितामा मकवानपुरगढीमा स्थायी रुपमा बसोबास गर्ने खेलाडीहरुले मात्रै सहभागिता जनाउन पाउने बताइएको छ ।