रास्वपा पाथीभरा केबलकारको विरोधमा

काठमाडौं । ताप्लेजुङको पाथीभरा क्षेत्रमा निर्माण गर्न लागिएको केबलकारको विवादले संसद्‍मा पनि बहस भएको छ।

आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पाथीभर (मुक्कुम्लुङ) मा केबलकार निर्माणका नाममा जारी तनावबारे गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

बैठकको आकस्मिक समयमा बोल्दै रास्वपा सांसद डा. तोसिमा कार्कीले तत्कालका लागि केबलकार निर्माण रोक्न माग गरेकी छन् ।

कार्कीले तत्काल निर्माण रोकी आन्दोलनरत पक्षसँग वार्ता गरेर सहमति खोज्न भनेकी छन् । उनले थुनामा रहेकाहरूलाई तत्काल रिहा गर्न पनि माग गरेकी छन् ।

‘पटक पटक प्रहरी प्रशासन र आन्दोलनकारीबीच झडप हुने, घाइते हुने भइरहेको छ । गोलीसमेत चल्ने र करोडौंको क्षति हुने गरेको छ । हिजोमात्र त्यहाँ अशान्त र असामान्य स्थिति देखा पर्यो । अहिले निषेधाज्ञा लागेको छ’, उनले भनिन्, ‘यसरी राज्यको अर्कमर्णयताका कारण नागरिक ‘एस’ केवलकार र ‘नो केवलकार’ मा विभाजित भए । अराजकता देखियो । आन्दोलितहरू आक्रोशित छन् । सरकारले यसमा निकास दिन सकेका छैनन् । समाजवादको नारा भजाउने पार्टी नै सरकारमा हुँदा पनि यस्तो तनाव किन ? ’

सांसद कार्कीले आन्दोलनकारीसँगको सहमति सरकारले उल्लंघन गरेको आरोप पनि लगाइन् । आन्दोलनकारीलाई गोली हानेर विकास नहुने उनले जिकिर गरिन् ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु