सहकारीले आफ्नो छवि सुधार्नुपर्छ – उपप्रधानमन्त्री सिंह

काठमाडौं– उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले गतिविधि सुधार गरेर सहकारी संस्थाहरूले आफूलाई राम्रो प्रमाणित गर्नुपर्ने बताएका छन् ।
काठमाडौंमा शनिबार आयोजित जनपयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५औँ वार्षिक साधारण सभा सम्बोधन गर्दै उनले तीन खम्बे अर्थनीतिअन्तर्गत रहेको सहकारीप्रति नागरिकमा नकारात्मक भाव रहेको भन्दै यस्तो बताएका हुन् ।
सहकारीको सिद्धान्त र मर्मविपरीत जाँदा सहकारी संस्थामा समस्या देखिएको उपप्रधानमन्त्री सिंहको भनाइ थियो ।
‘यस्तो संकटको समयमा खास गरेर नेपालको अर्थतन्त्रको तीन खम्बे अर्थनीतिमा सहकारीको ठूलो योगदान रहनुपर्ने भएको हुनाले पनि जुन तपाईँहरूको सहकारी छ यसले अहिलेको अवस्थालाई चिर्दै सहकारी राम्रो हो भन्ने कुरालाई आफ्नो गतिविधिबाट देखाउनु हुन्छ भन्ने विश्वास लिएको छु,’ सिंहले भने ।