५१ प्रतिशत जनसङ्ख्या खाना पकाउन दाउरामा निर्भर

काठमाडौं– देशका आधाभन्दा बढी जनसङ्ख्याले खाना पकाउन अझै पनि दाउरा प्रयोग गर्ने गरेका छन् । राष्ट्रिय जनगणना २०७८ को अन्तिम नतिजाअनुसार देशका ६६ लाख ६० हजार ८४१ परिवारमध्ये आधाभन्दा बढी अर्थात् ५१ प्रतिशत परिवारले खाना पकाउन अक्सर दाउरा प्रयोग गर्ने गरेको उल्लेख छ ।
अघिल्लो जनगणनाको तथ्याङ्कको तुलनामा यस पटक दाउरा प्रयोग गर्नेको सङ्ख्या १३ प्रतिशतले घटेको छ ।
२०६८ सालको जनगणनामा खाना पकाउन दाउरा प्रयोग गर्ने परिवार ६४ प्रतिशत थिए । जनगणनाअनुसार खाना पकाउन एलपी ग्यास प्रयोग गर्ने परिवार ४४।३ प्रतिशत छन् ।
भौगोलिक क्षेत्रअनुसार घरायसी ऊर्जाको प्रयोग र मिश्रणमा फरक भेटिन्छ । करिब २० प्रतिशत घरमा खाना पकाउन आधुनिक ऊर्जाको स्रोत विद्युत र एलपी ग्यासको प्रयोग हुने गरेको छ ।
८० प्रतिशत घरमा परम्परागत ऊर्जाका स्रोतहरू दाउरा, कृषिजन्य अवशेष, घरपालुवा गाईवस्तुका गोबरको गुइँठा आदि प्रयोग हुने गरेको छ ।
भौगोलिक क्षेत्रका हिसाबले तराई क्षेत्रका ९९ प्रतिशत घरमा राष्ट्रिय ग्रीडबाट बिजुली पुगेको छ। हिमाली क्षेत्रका करिब ३२ प्रतिशत घरमा मात्र राष्ट्रिय ग्रीडको बिजुली पुगेको छ। यस्तो अवस्थामा हिमाली र पहाडी क्षेत्रका अधिकांश जनसङ्ख्या ऊर्जाका लागि वनजंगलमा आश्रित भएको देखिन्छ ।