शिक्षकको निवृत्तीभरण वैशाखदेखि मात्र लागु हुने

काठमाडौं । सरकारले शिक्षकहरुको लागि निवृत्तिभरण कोषको छुटटै व्यवस्था लागू गर्ने भएको छ । २०७५ चैत ४ देखि ऐन लागू भए पनि सरकारले आउँदो २०८२ वैशाखबाट मात्र लागु हुने गरी कानुन बनाउन लागेको हो ।
सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमा निवृत्तीभरण कोषमा शिक्षकलाई समावेश गरिने प्रावधान राखिएको छ । उक्त प्रावधान प्रति नेपाल शिक्षक महासंघले विरोध जनाउँदै आएको थियो ।
विधेयकको दफा १२ मा रहेको निवृत्तीभरण कोष ऐन, २०७५ को दफा ९ को खण्ड ‘क’ पछि शिक्षक सेवा’ थप गर्न प्रस्ताव गरिएको थियो । प्रधानमन्त्रीको तर्फबाट सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले सोमबारको प्रतिनिधि सभाको बैठकमा विधेयकमा प्रस्तावित व्यवस्थाको भूत प्रभावी असर नहुने सुनिश्चितता गरेका हुन् ।
उनले भने,‘अब निवृत्तीभरण कोष ऐेन, २०७५ को दफा ९ (क) १० शिक्षक सेवा थप भएको छ भने उक्त खण्ड बमोजिमको व्यवस्था २०८२ साल बैशाख १ गतेदेखि प्रारम्भ हुनेछ ।’ गुरुङले शिक्षकको निवृत्तीभरणको विषयमा सभामुख देवराज घिमिरेलाई लिखित पत्र समेत बुझाइएका छन् ।