राक्सिराङका सबै वडामा बिजुली पुग्यो

हेटौंडा । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले देशमा पूर्ण रुपमा लोडसेडिङ अन्त्य भएको बताएका छन् ।
सोमबार मकवानपुरको राक्सिराङ गाउँपालिका–९ खैराङमा पूर्ण वडा विद्युतीकरण घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै निर्देशक घिसिङले लोडसेडिङ अन्त्य हुनुमा आफ्नो मात्रै हात नभएर सरकारको पहलबाट सफल भएको बताए ।
उनले आफू विद्युत प्राधिकरणमा आएपछि विद्युत नपुगेका गाउँहरुमा पनि विद्युत पुर्याएको र लोडसेडिङको पूर्ण अन्त्य गरेको बताए । ‘बजार क्षेत्रमा २४ सै घण्टा विद्युत दिएर देशमा लोडसेडिङ थिएन भन्नु गलत थियो,’ उनले भने, ‘म विद्युत प्राकिरणको कार्यकारी नियुक्त भएर जिम्मेवारी सम्हालेपछि अहिले गाउँरगाउँमा बिजुली पुगेको छ । त्यतिमात्रै होइन, लोडसेडिङको पूर्ण अन्त्य भएको छ ।’
उनले यसको लागि आफूले निष्ठापूर्वक काम गरेको बताए । आफूले सही बाटोमा लागेर काम गरेको र त्यसमा सरकारले सहयोग गरेकै कारण विद्युतीय क्षेत्रमा उपलब्धिमुलक काम गर्न सकिएको उनले बताए ।
‘नेपालमा खपत भएर बचेको विद्युत छिमेकी मुलुक भारतमा निर्यात गरिरहेका छौँ,’ उनले भने, ‘यति मात्रै होइन पछिल्लो समय बंगलादेशले पनि नेपालमा उत्पादन भएको बिजुली बालिरहेको छ । यो नै नेपालका लागि ठुलो उपलिब्ध हो भन्न सकिन्छ ।’
विकटमा नागरिकहरुका लागि प्राधिकरणले निशूल्क मिटरबक्स समेत वितरण गर्दै आएको निर्देशक घिसिङले बताए । राक्सिराङको ९ नम्बर वडा अन्र्तगत पर्ने खैराङ, कार्रालाङ लगाएतका गाउँमा पहिलो पटक विद्युत पुगेको हो । यो सँगै गाउँपालिकाको पूर्ण वडा विद्युतीकरण घोषणा गरिएको हो।
मकवानपुरको विकट मानिने राक्सिराङमा ५ हजार घरधुरी रहेको अझै १५ सय भन्दा धेरै घरहरुमा विजुली पुग्न बाँकी रहेको गाउँपालिका अध्यक्ष राजकुमार मल्लले जानकारी दिए ।