पत्रकारको हत्या र सञ्चारगृह आक्रमणको विरोधमा हेटौंडामा प्रदर्शन

हेटौंडा । काठमाडौंको तिनकुनेमा पत्रकारको हत्या र सञ्चारगृहमाथि आक्रमणमा संलग्न भएकालाई कारबारही गर्न माग गरिएको छ ।
पत्रकार सुरेश रजकको मृत्यु नभएर पूर्व राजावादीहरुले जलाएर हत्या गरेको भन्दै हेटौँडामा शनिबार आयोजित कार्यक्रममा पत्रकार र नागरिक समाजका अगुवाहरु उक्त घटनाको निन्दा र घटनामा संलग्न दोषीरुलाई कारबाहीको माग गरेका हुन् ।
शुक्रबार पूर्व राजावदीहरुको प्रदर्शनका क्रममा समाचारका लागि भिडियो खिचिरहेको घरमा राजवादीहरुले उक्त घरमा आगजनी गर्दा एभिन्युज टेलिभिजनमा कार्यरत पत्रकार रजकको मृत्यु भएको थियो ।
नेपाल पत्रकार महासंघ मकवानपुर र पत्रकार महासंघ बागमती प्रदेश समितिको समन्वयमा शनिबार हेटौँडामा भएको विरोध प्रदर्शन र कोण सभामा वक्ताहरुले पत्रकारहरु कुनै वंशवादको पक्षमा नभएको र लोकतन्त्रको विकल्प लोकतन्त्र नै भएको भन्दै गणतन्त्र विरोधीहरुको पहिलो निशानामा पत्रकार र सञ्चारमाध्यमहरुहरु विगतदेखि नै पर्दै आएको बताए ।
विरोध कार्यक्रम पत्रकार महासंघका पूर्व अध्यक्ष प्रताप विष्टले पत्रकारलाई कुनै पनि प्रकारको निरंकुशता स्वीकार्य नभएको भन्दै नागरिक स्वतन्त्रताका पक्षमा रहेका पत्रकारका विरुद्धमा सधैँ निङ्कुशतावादीहरु रहने गरेको बताए ।
कार्यक्रममा पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारी, नेपाल प्रेस युनियनका अध्यक्ष सुवास बिडारी, प्रेस चौतारीका अध्यक्ष सरिता दाहाल र नागरिक समाजका तर्फबाट भारती पाठकले पत्रकार रजक जिउँदै जलाएर मार्नेलाई अविलम्ब पक्राउ गरी कारबाहीको माग गर्दै अराजतक तत्वहरुका कारण पत्रकारको मृत्यु भएको र प्रेस स्वतन्त्रतामाथि आक्रमण गर्ने भएको कार्यको निन्दा गरे । साथै उनले अराजक गतिविधिलाई नियन्त्रण गर्न सरकार उदासिनता देखाए चरणवद्ध आन्दोलनमा उत्रिने चेतावनी दिए।
हेटौँडा उपमहानगरपालिका २ स्थित पल्पसा रोडबाट सुरुभएको विरोध र्याली सिमाचोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।