काठमाण्डौले पूर्वराजा ज्ञानेन्द्रलाई ७ लाख ९३ हजार रुपैयाँ जरीवाना तोक्यो

काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई सात लाख ९३ हजार रुपैयाँ जरीवाना तोकेको छ । हिजो तीनकुने क्षेत्रको प्रदर्शनमा तोडफोड र फोहोर गरेवापत महानगरले आठ वटा शीर्षकमा सात लाख ९३ हजार रुपैयाँ जरीवाना तोकेको हो । ज्ञानेन्द्र शाह, निर्मल निवास काठमाण्डौका नाममा महानगरका आठ जना नगर प्रहरीले आठ वटा बेग्लाबेल्लै पत्र काटेका हुन् ।
दुर्गा प्रसाईंको आह्वानमा राजसंस्था पुनर्स्थापनाका लागि भन्दै तीनकुने क्षेत्रमा प्रदर्शन भएको थियो । प्रसाईंले आह्वान गरेको प्रदर्शनलाई नवराज सुवेदी नेतृत्वको राजसंस्था पुनर्स्थापना संयुक्त जनआन्दोलन समिति, राप्रपा र राप्रपा नेपालले पनि समर्थन जनाएका थिए ।
यसअघि फागुन २५ गते पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाण्डौ आउँदा त्रिभुवन विमानस्थलदेखि स्वागत र प्रदर्शनका क्रममा फोहोर र महानगरका संरचनामा क्षति पुर्याएकोमा महानगरले राप्रपालाई एक लाख रुपैयाँ जरीवाना तोकेको थियो । सांसद ज्ञानेन्द्र शाहीले महानगरमा पुगेर जरीवाना तिरेका थिए । त्यसअघि महानगरले दरबारमार्गमा कार्यक्रम गरेको नेकपा एमाले लाई पनि एक लाख रुपैयाँ जरीवाना तोकेको थियो ।
यी हुन् महानगरले पूर्वराजासँग मागेको जरिवानाका शीर्षक
१. कोटेश्वर क्षेत्रको सडक तथा सडकपेटीमा जथाभावी फोहोरमैला गरेको– १ लाख
२. महादेवस्थान क्षेत्रको सडक तथा सडकपेटीमा जथाभावी फोहोरमैला गरेको– १ लाख
३. तीनकुने क्षेत्रको सडक तथा सडकपेटीमा जथाभावी फोहोरमैला गरेको– १ लाख
४. जडीबुटी क्षेत्रको सडक तथा सडकपेटीमा जथाभावी फोहोरमैला गरेको– १ लाख
५. बालकुमारी क्षेत्रको सडक तथा सडकपेटीमा जथाभावी फोहोरमैला गरेको– १ लाख
६. सिनामंगल क्षेत्रको सडक तथा सडकपेटीमा जथाभावी फोहोरमैला गरेको– १ लाख
७. महानगरको दमकल फुटाएको– १ लाख ३० हजार
८. तीनकुने क्षेत्रको रुख, बिरुवा र रेलिङ तोडफोड– ४० हजार
९. तीनकुनेको आइल्याण्डमा तोडफोड– २३ हजार