प्रसाईंमाथि राज्यविरुद्धको कसुरमा अनुसन्धान

काठमाडौँ । राजावादीले काठमाडौंको तीनकुने क्षेत्रमा गरेको हिंसात्मक प्रदर्शनका कमान्डर दुर्गा प्रसाईंविरुद्ध प्रहरीले राज्यविरुद्धको कसुरमा अनुसन्धान अघि बढाएको छ । भारतको आसाममा बिहीबार नियन्त्रणमा लिइएका प्रसाईंलाई शुक्रबार काठमाडौं ल्याएर प्रहरीले अनुसन्धान थालेको हो ।
उनलाई हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई जिल्ला अदालत काठमाडौंले १२ दिनको म्याद दिएको छ । तीनकुने क्षेत्रमा १५ चैतमा राजावादीले गरेको प्रदर्शनका क्रममा प्रसाईंले गाडी चलाएर प्रहरीलाई पेल्दै निषेधाज्ञा उल्लंघन गरेका थिए । उनले भीडलाई हिंस्रक बन्न उक्साएका पनि थिए । त्यसपछि भारतको आसाम पुगेर नेपालीभाषीको घरमा बसेका प्रसाईं र उनका निजी अंगरक्षक दीपक खड्कालाई बिहीबार प्रहरीको विशेष ब्युरोले नियन्त्रणमा लिएको थियो । उनीहरूलाई शुक्रबार झापाको भद्रपुरबाट जहाजमार्फत काठमाडौं ल्याइएको हो । नेपाल प्रहरी प्रधान कार्यालयले भने झापाको भद्रपुरबाट उनीहरूलाई पक्राउ गरेको जनाएको छ ।
प्रसाईं र खड्कालाई हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले अनुमति दिएको हो । जिल्ला अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठका अनुसार प्रसाईं क्यान्सरको बिरामी भएका कारण चिकित्सकको परामर्शमा राख्नसमेत अदालतले प्रहरीलाई आदेश दिएको छ ।