प्रधानमन्त्रीलाई चिठ्ठी

सम्माननीय प्रधानमन्त्री ज्यू,
सर्वप्रथम सम्माननीय प्रधानमन्त्री ज्यूमा हार्दिक नमन टक्र्याउन चाहन्छु । म मेरो पारिवारिक पृष्ठभूमि र समस्याका बारेमा हजुरहरु समक्ष चिठ्ठी पठाउंदैछु । कृपया झन्झट नमानी पत्रको व्यहोरा बुझि समस्याको समाधान गर्नुहुनेछ भन्ने ठूलो आशा एवं भरोसा समेत राख्दछु । मेरो परिवारमा हजुरबुवा, हजुरआमा, बुवा, आमा, पांच दाजुभाई, श्रीमति, बुहारीहरु, छोराछोरी, भतिजा भतिजी गरेर जम्मा २५ जनाको संयुक्त परिवार रहेको छ । म जेठो र माइलो भाई अनपढ भएकोले विदेशी भूमिमा ४५० को तातो घाममा पसिना बगाउछु र घरमा रहेका मेरा बुढा हजुरबुवा, हजुरआमा, बा आमा, श्रीमति, छोराछोरीहरुलाई पालनपोषणका लागि २।४ पैसा पठाउंदछौं । साइलो भाई काठमाडौंमा सानोतिनो नोकरी गर्छ । काइलो भाई निजामतिमा टाइपिष्टमा सरकारी जागिरे र कान्छो भाई घरमा बसेर नजिकको गाउंपालिकामा छैठौं तहको अधिकृतमा स्थानीय सेवाको काम गर्छ । यो विदेशी भूमिमा पसिना बगाउंदा र घरपरिवार संग टाढा बसेर काम गर्न कति गाह्रो होला हजुरले कल्पना सम्म पनि गर्न सक्नुहुन्न । हामी अनपढ भएको र नेपालमा खेतिपाति गर्छु भनेर धेरै प्रयास गरियो पनि । गाउंमा प्रशस्त जग्गा भएर पनि सिंचाईको अभाव, समयमा मल, बिउ पाउन नसक्नु, गाउंघरमा खेतिपाति गर्ने खेताला, पर्म समेत नपाइनु आदि जस्ता कारणले हामी दुई भाईले विदेशी भूमिलाई कर्मभूमि बनाउनुपर्यो । गाउंमा युवाहरुको नाममा कोही मर्दा मलामी जाने र बिरामी पर्दा बोकेर अस्पताल सम्म लैजाने युवा मान्छे भेट्टाउन गाह्रो भैसक्यो । हाम्रो गाउंमा बल्लतल्ल गाडी बाटो त खुल्यो तर नियमित चल्ने गाडी पनि छैन । घर परिवारमा केही पर्दा अलि अलि छिटै साइलो भाइ पनि घर पुग्छ तर हामी धेरै पैसा तिरेर आएका विदेशी भूमिलाई कर्मथलो बनाएकाहरुले चाहेका बेला घर फर्कन समेत कहां पाउंछौ र ? अहिले त नेपालमा पनि धेरै विकास भैसक्यो रे । पानी जहाज आइसकेको छ , अब केही वर्षमा रेल पनि कुद्नेवाला छ । शुभकामना र आशा दुवै छ हजुरलाई हामी २।३ वर्षमा नेपाल फर्कदा रेल चढेर घरका बुढा हजुरबुवा, हजुरआमालाई भेट्न जान पाइयोस् । हजुरले नेपालका गाउंगाउंमा छिटै विकासको लहर ल्याइदिनुहोला कि हामी पनि छिटै घर फर्कने रहर जागोस् । काठमाडौंमा पनि महंगी बढ्यो रे साइलो भाइले भनेको । विचरा २।४ पैसा त कमाउंछ तर घर पठाउनै गाह्रो भो अरे । काठमाडौंको धुलो, धुंवा, यातायातको भिडभाड, जुनसुकै क्षेत्रमा हेर्दा पनि एक प्रकारको लुट नै मच्चाएका छन् रे व्यापारीहरुले । अस्तिको बजेट भाषणबाट कर्मचारीहरुको त तलब पनि बढेको छ रे भन्ने सुनेको छु । त्यहि बहानामा व्यापारीहरुले चियाको दाम देखि सागपात सम्मको मूल्य बढाएका छन् रे । काइलो भाई टाइपिष्टमा जागिरे खांदै थियो मन्त्रालयमा अहिले अधिकृत भाको छ रे । संघीयता आएपछि खोइ घरपायक जागिर खान पाइने र बढुवा पनि हुन पाइने भए पछि निकै खुशी भएको थियो तर खोइ कसरी हो ऊ त विकट जिल्लाको गाउंपालिकामा सरुवा भयो रे काम गर्न मन छैन रे । संगै जागिर खाएका साथी संघमा पर्दा उसलाई चाहिं स्थानीयमा पठायो अरे । जागिर खाएको निकै वर्ष भए पनि वुद्धि नपुगेर स्थानीय तह रोजेर दुःख पाइयो भन्दै गुनासो गर्दै थियो । अनि पहिले देखि नै अधिकृत तहमा जागिर खाएको कान्छो भाई पनि उतै गाउंपालिकामा जागिर खांदै छ । तर संगै जागीर प्रवेश गरेका काइलोलाई बढुवा गर्दा कान्छोलाई चाहिं बढुवा दिइएको छैन रे । निजामति सेवाका कर्मचारीलाई समायोजनको नाममा ग्रेड वृद्धि, बढुवा दियो र कान्छो जस्ता २० वर्ष जनप्रतिनिधिविहिन अवस्थामा टाउकोमा बम र बारुदको धम्की सहंदै गाउंमा सेवा गरेर बसेका हजारौंलाई अन्य सेवाका कर्मचारी भनेर सौतेनी व्यवहार गर्यो रे ? के यो न्यायोचित देखिएको छ त ? काइलो र कान्छो एउटै आमाका छोराहरु हुन् तर सौतेनी दाजुभाई जस्तो
बनाइदिनुभयो । हामी विदेशी भूमिमा रहंदा बुढा हजुरबुवा हजुरआमाको सेवा गर्दै घर नजिकको गाउंपालिकामा सेवा गर्ने ऊ पनि अब विदेशीनुपर्ला पो भन्दै थियो । के ऊ चाहिं राष्टसेवक कर्मचारी होइन र ? हिजोका टाइपिष्ट र स्थानीय निकायका अधिकृतलाई अहिले एउटै दर्जामा राखेर भाइभाई बीच किन द्धन्द निम्त्याइदैछ र शिक्षित युवा विदेश पलायन हुंदैछ ? संघीयता कार्यान्वयनको नाममा किन यस्तो विभेद गरिंदैछ ?
किन यस्तो हुंदैछ सम्माननीय प्रधानमन्त्री ज्यू ? अझ अर्को अचम्मको कुरा त मेरै छिमेकीको छोरा पनि स्थानीय तहमा सुब्बा (सहायक पांचौ) मा जागिर खाएको ७ वर्ष भइसक्यो । त्यहि गाउंपालिकामा अहिले छैठौं तहमा कर्मचारी विज्ञापन भएको छ । उसको उमेर ४० वर्ष कटिसक्यो । अब उसले त्यहींको विज्ञापनमा पनि प्रतिष्पर्धा गर्न नपाउने रे , किन नपाउने भनेर सोधेको त निजामतिमा काम गरेकोलाई उमेरहद नलाग्ने र तर स्थानीयका लाई लाग्ने रे ।
ऊ पनि निराश भएर विदेश नै लाग्नुपर्ला भन्दै कुरा गर्दै थियो । सम्माननीय प्रधानमन्त्री ज्यू, किन यस्तो हुंदैछ ? एकपटक छातिमा हात राखेर यी र यस्ता विशौं हजार स्थानीय निकायका कर्मचारीमाथि गरिएको विभेदको विषयमा गम्भीर भएर सोचिदिनुस् । बस् तपाईं धन्यवादको पात्र मात्र हैन न्यायमूर्ति पनि साबित हुनुहुनेछ । मेरा ती बुढा हजुरबुवा हजुरआमा स्वर्ग जाने बेलामा त्यहि कान्छो भाईको माया मोह र सेवाले वहांहरुको आयु लामो हुनेछ । नत्र ऊ पनि अष्टेलिया र अमेरिका जाने चक्करमा सबैकुरा त्याग्न बाध्य हुनेछ र हामीले जस्तै विदेशी भूमिमा पाएको दुःख पुनरावृत्ति हुने बाहेक अरु केहि हुने छैन ।
संघीयताको कार्यान्वयनको महत्वपूर्ण पक्षको रुपमा रहेको कर्मचारीतन्त्रलाई तहसनहस नबनाइदिनुहोला प्रधानमन्त्री ज्यू, २।४ जनाको सल्लाहमा स्थानीय निकायका कर्मचारी माथि गरिएको विभेदलाई छिटै सम्बोधन गरिदिनुहोस् । निजामति सेवा र अन्य सेवाका कर्मचारी भनि विभेदकारी नामाकरणलाई राष्टसेवक जस्तो सम्मानित नाम दिएर पुरस्कृत गरिदिनुहोस् । सबैलाई जीत भएको अनुभूति गराइदिनुहोस् । मुख्य सचिव देखि उच्च पदस्थ कर्मचारी करारमा राख्ने भन्ने खालको (Spoil system) को दिवा सपना अहिलेलाई नदेख्नुहोस् । हजुरलाई थाहा छंदैछ एउटा कुलमान आउंदा देशमा लोडसेडिडको अवस्था कस्तो भएको छ ? हजुरको सोच राम्रो छ र होओस् पनि देशमा नाकाबन्दी भएको बेलामा गर्नुभएको कामले नै आज फेरी त्यो सिंहासनमा हजुरलाई पुनरावृत्ति गराइएको छ । हजुर सहि हुंदाहुंदै पनि हजुरका टिमहरु संग केही समन्वय कम भएको र एउटै स्पिरिटमा काम गर्न नदिएको वा नसकिएको जस्तो अनुभूति हुंदैछ । यातायात सिन्डीकेट हटाउने कुरा, गुठि विधेयकको कुरा, कर्मचारी समायोजनको कुरा आदि हतारमा मात्र गर्न खोजियो त्यसले दीर्घकालीन असर पर्न सक्ने कुरामा विशेष चासो दिनुहोला । हजुरले जुन क्षेत्रमा हात हाल्नुहुन्छ त्यो क्षेत्रमा नतिजा नदेखिए सम्म अन्तिम समय सम्म पनि नछोड्नुहोला । नेपाल आमाको आशिर्वाद रहिरहोस् । यो छोटो चिठ्ठीमा कति मनको बह लेख्न सक्छु र, नेपाल आउने वातावरण सृजना गरिदिनुहोस् हजुरसंग बसेरै भेट गरेर धेरै कुरा गरुंला । म एउटा विदेश भूमिमा रहेता पनि देश प्रति मेरो मातृभूमि प्रतिको माया अगाध रहेको छ । रहिरहनेछ । अन्त्यमा फेरी पनि भन्छु त्यो मेरो कान्छो भाईको बारेमा गम्भीर भएर सोचिदिनुहोस् र विदेशिन बाट रोकिदिनुहोस् जसले गर्दा मेरा हजरबुवा हजुरआमाले कान्छो भाइको सेवा पाइरहुन् । हजुरलाई मेरो कोटी कोटी अनुरोध एवं नमन । जय राष्टभूमि ।