सर्वत्र विरोध भएपछि नेपालमा नहुने भयो आइफा अवार्ड

सर्वत्र विरोध भएपछि इन्टरनेसनल इन्डियन फिल्म एकेडेमी अवार्ड (आइफा) काठमाडौंमा नहुने भएको छ। नेपाल पर्यटन बोर्ड आइफा अवार्ड सञ्चालन गर्ने तयारीबाट पछि हटेसँगै यो अवार्ड नेपालमा नहुने देखिएको हो। प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले आइफा अवार्ड रोक्न दिएको निर्देशनसँगै बोर्ड पछि हटेपछि यो अवार्ड काठमाडौंमा नहुने निश्चित भएको हो।
समितिको निर्णयपछि आइफा अवार्ड आयोजना नगर्ने अवस्थामा पुगेको नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले बताए । यो अवार्डको औपचारिक स्थगनबारे निर्णय लिन भने बाँकी रहेको उनले बताए । आइफा अवार्डका विषयमा अहिले बाहिर आएको हल्ला जस्तो अवस्था नरहेको पनि जोशीले बताए । उनले भने, ‘हामीलाई आइफा अवार्डका लागि लगानी गर्न प्रस्ताव आह्वान भएको हो । त्यस विषयमा हामीले औपचारिक कुनै निर्णय गरेका थिएनौ । नेपाल सरकारले पनि कुनै निर्णय गरेको अवस्था होइन । एउटा समिति बनाएर काम गर्ने भन्ने निर्णय भएको थियो । बाहिर यति धेरै विवादका रुपमा आएपछि अब हुँदैन होला ।’ जोशीले नेपाल भ्रमण वर्ष २०२० को प्रवर्धनका लागि यो अवार्ड नेपाललाई फाइदाजनक हुने अपेक्षा गरेर आफूहरु इन्टरनेसनल इन्डियन फिल्म एकेडेमीले गरेको प्रस्तावबारे सकारात्मक भएको बताए । 

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु