नगरपालिकाको स्रोत परिचालनमा टोल विकास संस्थाको भूमीका
नगरपालिकाको स्रोत परिचालनमा टोल विकास संस्थाको भूमीका सबै घरधुरीहरुको प्रतिनिधित्व रहने गरी नगरपालिकाको तल्लो ईकाईको रुपमा रहेको अभिन्न सहयोगी संस्थागत स्वरुप हो टोल विकास संस्था । शहरी समाज परिचालन मार्फत् टोल तथा समुदायको संस्थागत, सामाजिक, आर्थिक तथा मानवीय विकासका लागि संगठित एक घर एक सदस्यको मान्यतामा गठन गरिएको नगरपालिकाको सेवा घरधुरीसम्म प्रभावकारी रुपमा पुर्याउने एक सशक्त माध्यम हो टोल विकास संस्था ।
नगर विकासको नाममा नगरपालिकाहरुले केवल भौतिक निर्माणका पक्षमा मात्र आफ्नो श्रोत र साधन खर्च गरिरहेको अवस्थामा टोल तथा समुदायको सामाजिक, आर्थिक तथा मानवीय विकासका लागि अभिप्रेरीत गराउदै शहरी गरिबी न्यूनीकरण गर्ने उद्धेश्यले नेपालमा सन् १९९७ बाट राष्ट्र संघिय विकास कार्यक्रमको आर्थिक एवम् प्राविधिक सहयोगमा गाऊ नगर साझेदारी विकास कार्यक्रम मार्फत् समुदाय स्तरमा एउटा आधार स्तम्भको रुपमा टोल विकास संस्था गठन र विकास गरिएको हो । स्थापना पश्चात् वचतको माध्यमबाट आफनो समुदायको सामाजिक तथा आर्थिक विकासमा टोल विकास संस्थाले महत्वपूर्ण भूमीका खेल्दै आएको पनि छ । टोल विकास संस्थाको स्थापनासंगै महिलाहरुको नेतृत्व विकासको उचित अवसर प्राप्त, बित्तिय पूजी परिचालनबाट आर्थिक विकासमा टेवा, संगठित संस्कारको विकासमा सहयोग पुगेको कुरालाई नकार्न सकिदैन ।
यसका अलावा समूहमा ऋण प्रवाह गर्ने, समूहका पदाधिकारीहरुको नेतृत्व विकास, महिला सशक्तिकरण, टोलको सरसफाई तथा वातावरण संरक्षण, आय आर्जनका कार्यक्रमको आयोजना तथा संचालन समेत गर्दै आइरहेका छन् टोल विकास संस्थाहरुले । यसका अलावा केही टोल विकास संस्थाहरु केवल वचत संकलन तिर मात्र केन्द्रित भईरहेका छन् भने केही त निष्कृय रुपमै रहेको देखिएको छ । वर्तमान शासकीय संरचनामा वडा सबैभन्दा तल्लो र्ईकाईको रुपमा विद्यमान छ । नगरपालिकाबाट प्रदान गरिने सेवाहरु सबैभन्दा तल्लो ईकाई घरधुरीसम्म प्रभावकारी रुपमा पुगोस् भन्ने उद्धेश्यले टोल विकास संस्थाको रुपमा एक अर्काे संरचना खडा भएको हो भन्दा फरक नपर्ला । त्यसकारण टोल विकास संस्थाले नगरपालिकाको श्रोत परिचालनमा उल्लेखनीय भूमीका खेल्नु पर्ने देखिन्छ । नगरपालिका र टोल विकास संस्था परिपुरकका रुपमा रही नगरको समग्र विकासमा लाग्नु पर्ने देखिन्छ । टोल विकास संस्थाहरुले नगरपालिकाको श्रोत परिचालनका लागि निम्नानुसारको कार्य गर्न गराउन सक्नु पर्दछ ।
– स्थानीय आबश्यकता अनुरुप अल्पकालीन तथा दीर्घकालीन नीति र कार्ययोजना तर्जूमा गर्न सहयोग गर्ने ।
– योजनाको स्वामित्व लिने, श्रोत परिचालन गर्ने
– राजश्व योजना तर्जूमा र कार्यान्वयनमा सहयोग गर्ने
– नीति तथा कार्यक्रम कार्यान्वयनमा सहयोग गर्ने
– गरीब, दलित, जनजातीहरुको लगत राख्ने एवम् नगरपालिकासंग अन्य आबश्यक सूचना तथा तथ्यांक आदान प्रदान गर्ने
– नगरवासीहरुमा कर तिर्नु पर्छ भन्ने भावनाको विकास गर्ने, कर, शुल्क तथा दस्तुर तिर्न प्रोत्साहित गर्ने र कर तिर्न आनाकानी गर्ने तिर्न नमान्नेलाई सामाजिक रुपमा बहिष्कार गरी नगरपालिकाको राजश्व अभिबृद्धिमा सहयोग गर्ने
– नगरपालिकासंग जनसहभागितामा कार्यक्रम संचालन गर्ने – बसपार्क, शौचालय, पुरातात्विक महत्वका बस्तुहरु लगायत भौतिक संरचनाहरुको संरक्षणमा सहयोग गर्ने
– सार्वजनिक नीजि साझेदारी अवधारणामा कार्यक्रम संचालन गर्न सहयोग गर्ने यसका साथै नगरपालिकाले पनि नगरपालिकाको स्रोत भनेकै नगरवासीहरु नै हुन, नगरपालिका नगरुवासीहरुकै सहयोगमा नगरवासीहरुकै लागि कार्यरत छ भन्ने विश्वास दिलाउन सके नगरवासीहरुमा अपनत्वको भावना विकास हुने भएकाले नगरपालिकाले टोल विकास संस्थाहरुलाई आबश्यक रुपमा परिचालन गर्न सक्नु पर्दछ । यसका लागि
– नगरपालिकाको आन्तरिक श्रोत परिचालनमा सहयोग गर्ने टोल विकास संस्थालाई पुरस्कृत र प्रोत्साहन गर्ने,
– नागरिक समाजको रुपमा टोल विकास संस्थालाई परिचालन गर्ने,
– कर उठ्न नसकेका क्षेत्रमा टोल विकास संस्थालाई दवाव समूहका रुपमा काम गर्न परिचालन गर्ने,
– कुनै पनि योजना तथा कार्यक्रम समुदायस्तरमा सम्पन्न भई निरन्तर रुपमा संचालन गर्न समुदायलाई जिम्मा दिने,
समग्रमा हेर्दा नगरपालिकाको स्रोत परिचालन गरी नगरको समग्र सामाजिक, आर्थिक विकासमा टोल विकास संस्थाले उल्लेखनिय भूमीका खेल्न सक्ने देखिन्छ । यसका लागि सम्बन्धित टोल विकास संस्था तथा नगरपालिका बिच सु–मधुर सम्बन्ध कायम हुनु आबश्यक छ । स्थानीय सरकारको रुपमा रहेको नगरपालिकामा हेर्ने हो भने साविकमा भरतपुर महानगरपालिकाले एकिकृत सम्पत्ति करको लगत संकलन, घोराही र तुल्सीपुर उपमहानगरपालिकामा कर उठाउन टोल विकास संस्थालाई प्रयोग गर्नुले पनि टोल विकास संस्थाको महत्व अझ बढ्न गएको देखिन्छ ।
नगर सरकारको रुपमा रही शहरी सुशासन प्रबद्र्धनको नेतृत्व प्रदान गर्ने नगरपालिकाको आफ्नो सेवा तथा सुविधा प्रवाह गराउने सशक्त संस्थागत ईकाईको रुपमा टोल विकास संस्थाले काम गर्न सक्ने भएको हुदा नगरपालिकाको श्रोत परिचालनमा टोल विकास संस्थाले महत्वपूर्ण भुमीका खेल्ने कुरामा कसैको दुईमत छ जस्तो लाग्दैन ।
टोल विकास संस्था शहरी समाज परिचालनमा आधारित रही स्थानीय तहको श्रोत परिचालन गरी समुदायका सदस्यहरुको जीवनस्तरमा सुधार ल्याउने, सुशासनलाई प्रबद्र्धन गर्ने, जनसहभागिताको परिचालन गरी आफ्नो टोल बस्ती तथा समुदायको सामाजिक एवम् आर्थिक विकास गर्ने साथै नगरको समग्र विकासमा सहभागी हुन उपयुक्त वातावरण सृजना गर्ने नगरपालिकाको एक आधारभूत संरचनाको रुपमा स्थापित हुनुपर्दछ ।
यस लेख साउन २७ गते प्रकाशित साम साप्ताहिकबाट साभार गरिएको हो ।