हाजिर गर्यो काम सक्यो भन्दा पनि उत्कृष्ट पो काम गर्ने कि ?

कुनै पनि उद्देश्य, लक्ष्य प्राप्तिका लागि हामि आफ्नो शारीरिक र मानसिक बल प्रयोग गरि आबद्ध हुने प्रक्रिया नै कार्य हो । मानब संशाधन जो कुनै पेशामा पूर्ण आबद्ध छ वा आंशिक उ कुनै न कुनै प्रकारको कार्यमा संलग्न भएकै हुन्छ । कुनै पनि व्यक्तिको रचनात्मक कार्यदेखि लिएर उसले गर्ने घरेलु कार्य होस् वा पारिश्रमिकमा आधारित कार्य वा विना पारिश्रमिक गरिने कार्य सबै मानिसले गर्ने कार्य भित्र नै पर्दछन ।
जब हामिले गर्ने कामको अरुले गर्ने काम भन्दा फरक भै कामको मुल्य हुन्छ र त्यसको परिणाम असल आउछ भने मात्र त्यो काम उत्कृष्ट
हुन्छ । काम गराइको सन्दर्भमा कार्यक्षेत्रमा गरिने उत्कृष्ट कार्य आफ्ने बृतिविकाससंग पनि जोडिएको हुन्छ । साथै यो गुणात्मक र उत्कृष्ट सेवा संगठनसंग पनि जोडिएको हुन्छ । प्रत्येक संगठनका आ-आफ्ना लक्ष्य र उद्देश्यहरु रहेका हुन्छन र ति प्राप्तिका लागि कर्मचारीहरु केवल कार्यालय जाने र आफ्नो सामान्य काम गर्ने अनि कहिले महिना सकिन्छ र तलब बुझ्ने भन्ने सोचाईले मात्र केहि हुनेवाला छैन । प्रत्येक कर्मचारीका आ-आफ्ना भूमिका, जिम्मेवारी र कर्तब्य तोकीएका हुन्छन जुन प्रत्येक संगठनको प्रबाह गर्ने सेवासंग जोडिएको हुन्छ । कुनै पनि संगठनमा एउटा कर्मचारीले गर्ने उत्कृष्ट कार्य उसको क्षमता विकाससंग त जोडिएको हुन्छ नै त्यहामाथि संगठनको उत्कृष्टतासंग समेत जोडिएको हुन्छ । धेरै संगठनमा प्रत्येक कर्मचारीलाई आ-आफ्नो कार्य विवरण दिईएको हुन्छ । जहा उसका सामान्य कार्य, भूमिका, कर्तब्य, जिम्मेवारी, अधिकार उल्लेख गरिएका हुन्छन ।
केहि संगठनहरुमा कर्मचारीहरु उत्कृष्ट काम गर्ने तर्फ ध्यानै दिदैनन् । भनिन्छ गलत कामको सिकाईबाट उत्कृष्ट कार्य गर्न पृष्ठपोषण प्राप्त हुन्छ तर कर्मचारीहरु आफ्नो जिम्मेवारीबाट पन्छिने र सिक्न नचाहने गर्ने हो भने उसले केहि प्रगति गर्न सक्दैन । यदि हामि आफ्नो सपना पुरा गर्न चाहन्छौ भने भैरहेको र गरिरहेको कामलाई फरक किसिमले उत्कृष्ट बनाउने गरि गरौ पक्कै पनि लक्ष्य र उद्देश्यमा पुग्न सकिनेछ ।
एउटा शिक्षकले कक्षाकोठामा राम्रोसंग अध्यापन गराएको छ, कडा परिश्रम गरि उत्कृष्ट नतिजा ल्याउन प्रयाश गरेको छ र विद्यालयले पनि उपयुक्त वातावरणको सिर्जना गरि दिएको छ र परिणाम स्वरूप नतिजा उत्कृष्ट नै आयो भने त्यो शिक्षक र विद्यालय दुवैको उत्कृष्ट कार्यको नतिजा हो । कुनै पनि विद्यालयले सुधारात्मक र गुणात्मक शिक्षा दिन सफल हुन्छ भने त्यो उसको उत्कृष्ट कार्य नै हो भन्दा फरक नपर्ला ।
धेरै जसो संगठनहरुमा उत्कृष्ट कार्यको मुल्यांकन गर्दै पुरस्कार र दण्डको ब्यबस्था गर्ने गरिएको पाइन्छ । केहि संगठनले बर्षभरि काम गर्ने कर्मचारी मध्येबाट उत्कृष्टलाई पुरस्कृत गर्ने गरेको पाइन्छ । विगतमा नेपाल सरकारबाट स्थानीय निकायहरुको कार्य सम्पादनमा आधारित सूचकका आधारमा मुल्यांकन गरि उत्कृष्ट हुनेलाई थप अनुदान र न्युनतम मापदण्ड नै पुरा नगर्नेलाई अनुदान कटौती गर्ने समेत गर्ने गरिएको अवस्था थियो । यहाँ भन्न खोजिएको के हो भने कुनै पनि संगठनको कार्य मुल्यांकन त्यहा कार्य गर्ने कर्मचारीसंग पनि जोडिएको हुन्छ । संगठन उत्कृष्ट हुन्छ भने पक्कै पनि कर्मचारीकै योगदानका आधारमा नै हो ।
उत्कृष्ट कार्यका लागि कर्मचारी र संगठनको आ-आफ्नै भूमिका र जिम्मेवारी रहेको हुन्छ । मानब संशाधन विकास र योजना, कार्यक्षेत्रमा उपलब्ध गरिने उत्प्रेरणा, कामप्रतिको सन्तुष्टि, साँघुरो कार्य संस्कृति, संगठनको निर्णय आदि कर्मचारीको कार्य सम्पादनमा प्रभाव पार्ने तत्व नै हुन । यदि कुनै संगठनमा कर्मचारीको क्षमता विकास तर्फ ध्यान दिइन्न भने त्यहा कर्मचारी काम प्रति कसरि सन्तुष्ट हुनसक्छ । संगठनले गर्ने निर्णय कर्मचारीको बिरुद्धमा भै काम गर्ने वाताबरण सृजना हुन् सक्दैन भने त्यहा काम गर्ने कर्मचारी कहिले पनि खुशी हुन सक्दैनन् र आफ्नो क्षमता प्रस्तुत गर्न सक्दैनन् । यदि कर्मचारी खुशी र स्वस्थ्य छैनन् भने उनीहरुले गरेको कामको परिणाम सकारात्मक आउछ भन्ने कुनै ग्यारेन्टी नै छैन ।
कामप्रतिको सन्तुष्टि नै उत्कृस्ट कार्यको सूचक हो । यदि उ कामप्रति सन्तुष्ट छ भने उसको संगठनप्रति उपस्थिति पनि नियमित हुनजान्छ । त्यसैगरी संगठन र कर्मचारी बीच सु-मधुर सम्बन्ध र सामुहिक कार्य पनि उत्कृष्ट कार्यको सूचक भित्र नै पर्दछन जसले पारस्परिक सम्बन्ध विस्तारका साथै एक अर्का बीच अनुभव आदानप्रदानका लागि सहयोग गर्दछ ।
त्यसो भए उत्कृष्ट कार्य प्रदर्शनका लागि के गर्ने त् ?
- आफ्नो व्यवहारलाई मुल्यसंग सम्बन्ध स्थापित गर्ने
- गल्तीबाट सिक्ने प्रयाश गर्ने किनकि यो जीवनमा सफल हुनका लागि मार्गदर्शन प्रदान गर्ने तत्व हो
- आफ्नो कामप्रति ईमान्दार भै दयालुपनका साथ कार्य गर्ने
- कामप्रति आफ्नो जिम्मेवारी बहन गर्ने
- अरुको भन्दा फरक तवरले काम गर्ने ईच्छा शक्ति राख्ने
- समकक्षीसंग सु-मधुर सम्बन्ध विस्तार गर्ने
- आफ्ने अमुल्य जीवन खुशीका साथ बिताउने
- समयको सहि सदुपयोग गरि समय र कार्य जिबन एवं पारिवारिक जीवनलाई सन्तुलनमा राख्ने
कुनै पनि संगठनको निरन्तरता, वृद्धि र विकासका लागि उत्कृष्ट कार्य प्रदर्शन आबश्यक पर्दछ । उत्कृष्ट कार्य प्रदर्शनले संगठन र कर्मचारी दुवैका लागि फलदायी हुने देखिन्छ । यसले संगठनको आर्थिक उपलब्धिका साथै लक्ष्य र उद्देश्य प्राप्तिका लागि पनि सघाउ पुर्याउदछ । उत्कृष्ट कार्यले कर्मचारीलाई बिभिन्न सकारात्मक प्रभाव पर्न जाने देखिन्छ ।
- व्यक्तिगत तथा पेशागत क्षमता विकासको अवसर भएकाले नयाँ अवसर र बढुवाको सम्भावना अत्याधिक हुन्छ
- कामप्रति लगान र सफल हुनु भनेको अन्यत्र अवसरको खोजी गर्न जानु पर्दैन भन्ने नै हो र हाकिमले पनि Out from the job भन्न सक्दैन । कार्य दीर्घकालीन र नोकरी स्थायित्व हुन जान्छ
- कर्मचारीको ज्ञान र सीपको विकास हुन्छ / कामप्रति सन्तुष्टि बढ्न गई स्वस्थ जीवनको निर्माण गर्दछ
- गर्ब र मान, प्रतिष्ठा बढ्न गई खुशीपनमा वृद्धि हुनजान्छ
- पेशागत स्तरवृद्धिका लागि बाटो देखाउने कार्य गर्दछ
- संगठन र कर्मचारीको लक्ष्य र उद्देश्य प्राप्तिका लागि मद्दत गर्दछ
- संगठन र कर्मचारीको स्वामित्व र सशक्तिकरण, वृद्धि र विकासमा मद्दत गर्दछ
- आर्थिक रुपमा सबल बनाउदछ
- परिवार, समकक्षि तथा समाजबाट सम्मान पाउन मद्दत गर्दछ
- सामुहिक कार्यप्रति अभिबृधि गरि समकक्षी बीच सु-मधुर सम्बन्धको विकास गर्दछ
यति हुँदाहुँदै पनि केहि कर्मचारी नकारात्मक सोचका पाइन्छन । हामीले कडा परिश्रम गरे पनि पाउने तलब उति नै हो हाम्रो तलब घट्ने होईन भन्ने सोचका कर्मचारीहरु पनि पाइन्छन । यसै कारण पनि कुनै पनि संगठनमा कामको मुल्यांकन गरि पुरस्कार र दण्डको ब्यबस्था गर्नु अति नै आबश्यक रहेको छ । कार्य मुल्यांकनले कर्मचारीले कसरि कार्य प्रस्तुत गर्दछन र उक्त कार्य प्रदर्शनले निर्धारित लक्ष्य र उद्देश्य प्राप्तिमा कत्तिको मद्दत गर्यो सबैको मुल्यांकन गरिन्छ ।
प्रत्येक कर्मचारीसंग फरक फरक क्षमता रहेको हुन्छ । संगठनले ति क्षमता प्रस्फुटन गर्न सक्ने अवसर र वातावरण तयार गरि दिनु पर्दछ । कुनै संगठनमा कर्मचारीले आफुले चाहेर पनि क्षमता प्रस्फुटन गर्न पाउने वातावरण रहेको पाइदैन । कुनै कर्मचारीमा लेखा सम्बन्धि ज्ञान छ तर उसलाई सुचना प्रबिधि शाखाको जिम्मेवारी दिईयो भने उसले चाहेर पनि लेखा सम्बन्धि ज्ञान भन्दा बढी ज्ञान र क्षमता सुचना तथा प्रबिधि क्षेत्रमा देखाउन सक्दैन । त्यसकारण पनि Right Man, Right Place, Right Time, Right Job कुनै पनि संगठनको उत्कृष्ट कार्य वा सेवा प्रवाहको लागि अपरिहार्य नै छ ।
अन्त्यमा, Excellence is not being the best, it is doing your best नै हो । जब हामि क्षमता प्रस्तुत गर्न सक्छौ, कडा परिश्रम गर्छौ, कुनै पनि कार्यको समयसीमा राखी कार्ययोजना सहित कार्य गरि मुस्कान सहितको सेवा दिन सक्षम हुन्छौ तपाईलाई आर्थिक एवं पेशागत अवसरले पच्छाइनै रहने छ । पुरस्कार, कामप्रतिको लचकता, पेशागत वृद्धि र विकास, व्यक्तिगत मुल्य र मान्यता आदिलाई कार्य सन्तुष्टिको सूचकका रुपमा मान्न सकिन्छ । यदि हामि हामीले गर्ने काम र आफ्नो संगठनप्रति सन्तुष्ट हुन् सक्यौ भने हामिले राम्रो र असल सेवा प्रदान गर्न जब हामि राम्रो र अशल सेवा दिन सक्छौ तब मात्र कर्मचारी र संगठनको उत्कृष्टता झल्कन सक्छ । यसकारण पनि हामि भन्न सक्छौ कि कुनै पनि कार्य सम्पन्न गर्नु मात्र हाम्रो जिम्मेवारी होईन कि उक्त कार्यलाई फरक ढंगबाट, अझ प्रभाबकारी रुपमा राम्रो र उत्कृष्ट बनाउनु नै संगठनका सबै कर्मचारीहरुको दायित्व रहन्छ ।
यो लेख भदौ २ गतेको साम साप्ताहिकमा प्रकाशित विचारबाट साभार गरिएको हो ।